अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुवाङलाई पुनः नेतृत्वमा फर्काउने सम्भावना नरहेको बताएको छ।
एनभिडियाको बोर्ड अध्यक्ष हार्भी जोन्सले हुआङलाई सिइओमा फर्काउने योजना नरहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
‘एनभिडियाको बोर्डले सर्वसम्मत रूपमा उनको राजीनामा स्वीकार गरेको हो र जेन्सेनलाई सिइओमा पुनः नियुक्त गर्ने हाम्रो कुनै योजना छैन,’ मंगलबार लगानीकर्ताहरूसँगको छलफलमा जोन्सले भने।
हुवाङले पद छाडेपछि उनलाई पुनः सिइओ बनाउन समर्थकहरूले ‘स्ट्यान्ड विथ जेन्सेन’ अभियान चलाएका थिए।
कम्पनीका कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार, ग्राहक तथा प्रविधि क्षेत्रका केही प्रमुख व्यक्तिले पनि उनलाई फर्काउन माग गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हुआङलाई समर्थनको संकेत गरेका थिए।
हुआङ आफैले पनि मंगलबार एक्समार्फत वक्तव्य सार्वजनिक गर्दै आफूलाई कम्पनीका कर्मचारी, लगानीकर्ता र ग्राहकबाट फर्कन आग्रह भइरहेको बताएका थिए।
‘यदि सञ्चालक समितिले मेरो फिर्ती सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुन्छ भन्ने निर्णय गर्छ भने, यी आग्रह स्वीकार गरेर सिइओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मान हुनेछ,’ वक्तव्यमा उनले भनेका छन्।
व्यक्तिगत जीवनमा गम्भीर गल्ती गरेको स्वीकार गर्दै उनले त्यसको जिम्मेवारी लिने र बोर्डको स्वतन्त्र छानबिनमा सहयोग गर्ने पनि बताएका थिए।
हुवाङको राजीनामा कम्पनीको आचारसंहिता, मापदण्ड र संस्थागत संस्कृतिविपरीतको व्यक्तिगत आचरण सार्वजनिक भएपछि स्वीकार गरिएको बोर्ड अध्यक्ष जोन्सले बताएका छन्।
यसअघि श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै हुआङले एनभिडियाका कर्मचारीलाई पत्र पठाएपछि एलिस हुआङसँग उनी प्रेम सम्बन्धमा रहेको सार्वजनिक भएको थियो।
सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी रहेकी हुआङले चीनका लागि सूचना संकलन गरेको आशंकामा अहिले छानबिन भइरहेको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले जेन्सेन कम्पनीकै अरू कर्मचारीसँग पनि सम्बन्धमा रहेको सार्वजनिक गरेका थिए।
घटना सार्वजनिक भएपछि हुआङले सिइओबाट राजीनामा दिएका थिए। सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गरी उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ।
ताइवानमा जन्मिएका ६३ वर्षीय हुआङले सन् १९९३ मा दुई इन्जिनियरसँग मिलेर एनभिडिया स्थापना गरेका थिए।
क्यालिफोर्नियाको एउटा रेस्टुरेन्टमा भिडिओ गेमका दृश्यलाई वास्तविकजस्तो देखाउने चिप बनाउनेबारे उनीहरूले गरेको कुराकानीबाट कम्पनीको सुरुआत भएको एपीले लेखेको छ।
स्थापनादेखि नै हुआङ कम्पनीका प्रमुख कार्यकारी छन्।
एनभिडियाका ग्राफिक्स चिप (जिपियू) ले धेरै हिसाब एकैसाथ गर्न सक्छन्। गेमका दृश्य बनाउन काम लागेको यही क्षमता पछि च्याटजिपीटीजस्ता एआई प्रणालीलाई ठूलो परिमाणको सामग्रीबाट सिकाउन र चलाउन उपयोगी भयो। एनभिडिया अहिले एआई चिपको प्रमुख आपूर्तिकर्ता हो।
कम्पनीको वित्तीय विवरणअनुसार जुलाई २६ मा सकिएको तीन महिनामा एनभिडियाको कुल आम्दानी ९६ अर्ब २० करोड अमेरिकी डलर थियो। त्यसमध्ये ८९ अर्ब डलर डेटा सेन्टर व्यवसायबाट आएको थियो।
गत भदौमा रसुवाको भोटेकोशीमा बाढी आएपछि हुआङको नेतृत्वमा रहेको एनभिडियाले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड अमेरिकी डलर (करिब डेढ अर्ब रूपैयाँ) सहयोग गरेको थियो। अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यस बेला हुआङलाई धन्यवाद दिएका थिए।
हुआङसँग एनभिडियाको करिब ३.६ प्रतिशत सेयर छ।
विवादपछि उनले राजीनामा दिएसँगै कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएकी छन्।