अन्तर्राष्ट्रिय फिचर
तपाईंको छोरा वा छोरीले परीक्षामा सोचेभन्दा कम अंक ल्याए।
तपाईं रिसाउनुभयो।
उसलाई अल्छी भन्नुभयो। यसरी पढेर जिन्दगीमा केही गर्न नसक्ने चेतावनी दिनुभयो। रिस नमरेपछि छिमेकी र आफन्तका छोराछोरीसँग तुलना गर्नुभयो।
तपाईंलाई लाग्यो— म उसको भविष्यको चिन्ताले रिसाएको हुँ।
तर के तपाईंको त्यो रिसमा छोरा वा छोरीको भविष्यको चिन्ता मात्र थियो?
कि आफ्नो डर पनि मिसिएको थियो— छोरा वा छोरी असफल भए भने समाजले के भन्ला? आफन्तसामु आफ्नो इज्जत के होला?
वा डाह थियो— अरूका छोराछोरी अघि बढ्दा आफ्नो पछि पर्यो भने कसरी सहने?
अनि तपाईंले छोराछोरीको भविष्यका नाममा आफ्नै डर र डाह उनीहरूमाथि पोखिरहनुभएको त थिएन?
भारतमा हुर्किएकी र अमेरिकामा कार्यरत मनोवैज्ञानिक डा. शेफाली साबरीले अभिभावकलाई यही असजिलो प्रश्न सोधिरहेकी छन्।
उनी भन्छिन्— छोराछोरीको व्यवहार बदल्न हतार गर्नुअघि अभिभावकले आफ्नै प्रतिक्रियाको स्रोत खोज्नुपर्छ।
यो साँच्चै बच्चाको समस्या हो कि अभिभावकको डरको प्रतिक्रिया?
डा. शेफालीका दुई पुस्तक यही सेप्टेम्बरमा एकसाथ प्रकाशन भएका छन्— रेजिङ कन्सस सन्स (सचेत छोरा हुर्काउने) र रेजिङ कन्सस डटर्स (सचेत छोरी हुर्काउने)।
पहिलो पुस्तक आजका छोराहरूको संसारबारे छ। दोस्रो छोरीहरूको संसारबारे।
अमेरिकी पत्रिका पिपलसँगको अन्तर्वार्तामा डा. शेफालीले प्रविधिको युगले सिर्जना गरेका नयाँ समस्याबीच अभिभावकलाई स्पष्ट दिशा र व्यावहारिक उपायको तत्काल आवश्यकता महसुस भएकाले यी पुस्तक लेखेको बताएकी छन्।
छोरा र छोरीले सामना गरिरहेका दबाब फरक भए पनि दुवै पुस्तकलाई जोड्ने प्रश्न एउटै छ— आजको डिजिटल, प्रतिस्पर्धी र बेचैन संसारमा छोराछोरी कसरी हुर्काउने?
डा. शेफाली यसको उत्तरका लागि सबैभन्दा पहिले अभिभावकतिर फर्किन्छिन्।
भन्छिन्— बच्चालाई हुर्काउने यात्रा वास्तवमा अभिभावक आफै बदलिने यात्रा हो।
अभिभावकले छोराछोरीलाई माया गर्छन्। उनीहरूको भविष्य सुरक्षित होस् भन्ने चाहन्छन्। आफूले नपाएका अवसर उनीहरूले पाऊन् भन्ने सोच्छन्।
तर समस्या त्यति बेला सुरू हुन्छ, जब अभिभावकको प्रेमसँगै उसको स्वामित्व मिसिन्छ।
'यो मेरो बच्चा हो' भन्ने भाव बिस्तारै 'बच्चा मैले चाहेजस्तै बन्नुपर्छ' भन्ने अपेक्षामा बदलिन्छ। आफू डाक्टर बन्न नसकेको बाबुले छोरा डाक्टर बनोस् भन्ने चाहन्छ। जागिरमा ठूलो सफलता नपाएकी आमाले छोरी सधै कक्षामा पहिलो होस् भन्ने अपेक्षा गर्छिन्।
छोराछोरीले फरक रूचि देखाए भने अभिभावकलाई आफ्नै सपना अस्वीकार गरिएको महसुस हुन्छ।
डा. शेफाली भन्छिन्, 'बच्चा अभिभावकको विस्तार होइन। ऊ छुट्टै व्यक्तित्व हो।'
यहाँनेर शेफालीले भनेको कुरा प्रसिद्ध लेबनानी–अमेरिकी कवि तथा लेखक खलिल जिब्रानसँग मिल्छ।
आफ्नो काव्यात्मक गद्यकृति 'द प्रोफेट' को 'अन चिल्ड्रेन' खण्डमा उनी लेख्छन्, 'तिम्रा छोराछोरी तिम्रा होइनन्। उनीहरू तिमीमार्फत आउँछन्, तिमीबाट होइनन्।'
उनी अगाडि लेख्छन्, 'तिमी धनुष हौ, जसबाट तिम्रा छोराछोरी जीवित तीर बनेर छुट्छन्।' (भावानुवाद)
यसको अर्थ छोराछोरीलाई जे मन लाग्यो त्यही गर्न दिनुपर्छ भन्ने होइन।
उनीहरूलाई सीमा, अनुशासन र जिम्मेवारी चाहिन्छ। तर सीमा उनीहरूको व्यक्तित्व दबाउन प्रयोग भइरहेको छ कि सुरक्षित र जिम्मेवार बनाउन— शेफाली भन्छिन्, मुख्य प्रश्न यही हो।
डा. शेफाली मुम्बईमा हुर्किइन्। पछि अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट क्लिनिकल साइकोलोजीमा विद्यावारिधि गरिन्। उनका अनुसार पश्चिमी मनोविज्ञानले मानिसको विगत, चोट र व्यवहार बुझ्न मद्दत गर्छ। पूर्वीय दर्शनले मानिसका विचार र प्रतिक्रियालाई सजगतापूर्वक हेर्न सिकाउँछ।
यी दुई धार मिसाएर उनले 'कन्सस प्यारेन्टिङ' अर्थात् 'सचेत अभिभावकत्व' को अवधारणा लोकप्रिय बनाएकी छन्।
उनको पहिलो चर्चित पुस्तक 'द कन्सस प्यारेन्ट' अर्थात 'सचेत अभिभावक' सन् २०१० मा प्रकाशित भएको थियो। दलाई लामाले त्यसको भूमिका लेखेका थिए।
अमेरिकी पत्रिका प्यारेन्ट्सका अनुसार टेलिभिजन प्रस्तोता ओपरा विन्फ्रीले यसलाई आफूले पढेको अभिभावकत्व सम्बन्धी सबभन्दा गहन पुस्तक भनेकी थिइन्। त्यसपछि डा. शेफाली ओपराका विभिन्न कार्यक्रममा सहभागी भइन्।
शेफालीको यो पुस्तकमा उनले पढेको ज्ञान मात्र छैन। आफ्नै निजी अनुभव पनि छ।
आफ्नै छोरीसँग कहिलेकाहीँ आवश्यकताभन्दा बढी रिसाएको र दबाब दिएको अनुभवपछि उनी आफूतिर फर्किइन्। त्यसले उनलाई घोत्लिन बाध्य बनायो।
'मेरो चिन्ता खासमा छोरीबारे हो कि आफ्नैबारे?' उनले आफैलाई सोधिन्।
प्यारेन्ट्ससँगको अन्तर्वार्तामा उनले छोरीसँगका आफ्ना धेरै व्यवहार आफूभित्रको व्यक्तिगत डर, अधुरा आवश्यकता र बाल्यकालका अनुभवसँग जोडिएको बताएकी छन्।
हामी धेरैजसोले हाम्रा अभिभावकहरूबाट पाएको व्यवहार नै अर्को पुस्तामा सार्न खोज्छौं। हामीले पनि पिटाइ खायौं भन्छौं। हामीलाई कसैले मनको कुरा सोधेन भन्छौं। हामी बुबाआमासँग बोल्न समेत डराउँथ्यौं, आजका केटाकेटी त मुखमुखै लाग्छन् भन्छौं।
यसरी आफूले बाल्यकालमा भोगेको डर र अपमानलाई अनुशासनका नाममा दोहोर्याउँछौं।
डा. शेफालीका अनुसार अभिभावक सचेत नहुने हो भने पुस्तौंदेखि सर्दै आएको घाउ 'प्रेम र अनुशासन' को रूप धारण गरेर अर्को पुस्तामा पनि सर्छ।
मानौं, छोराले रिसाएर ढोका बजार्यो।
अब अभिभावकको पहिलो प्रतिक्रिया के हुन्छ — मसँग यस्तो व्यवहार गर्ने?
यसपछि बच्चाको रिसभन्दा ठूलो विषय अभिभावकको अपमान बन्छ। डा. शेफाली सन्तानको व्यवहार सच्याउनुअघि त्यसको पछाडिको भावना बुझ्नुपर्ने बताउँछिन्। सन्तानको व्यवहार स्वीकार गर्नु र उसको भावना स्वीकार गर्नु फरक कुरा हो।
उदाहरणका लागि, भन्न सकिन्छ— तिमी रिसाएको म बुझ्छु। तर ढोका बजार्न पाइँदैन।
यसले रिसलाई ठाउँ दिन्छ तर गलत व्यवहारलाई स्वीकृत गर्दैन।
उनको सूत्र सरल छ— छोराछोरीसँग पहिले सम्बन्ध गहिरो बनाऊ। त्यसपछि सुधार।
त्यसको पहिलो सर्त अभिभावक आफै शान्त हुनुपर्छ।
आफ्नो रिस सम्हाल्न नसकेको वयस्कले बच्चालाई रिस नियन्त्रण गर्न सिकाउन सक्दैन। अभिभावक र बच्चा दुवै आवेगमा भएका बेला पहिले आफूलाई रोक्ने जिम्मेवारी वयस्कको हो।
सचेत अभिभावक कहिल्यै रिसाउँदैन भन्ने होइन। ऊ पनि चिच्याउन वा गलत निर्णय गर्न सक्छ।
तर पछि फर्केर भन्छ, भन्नुपर्छ— तिम्रो व्यवहार गलत थियो। तर मैले पनि त्यसरी चिच्याउनु हुँदैनथ्यो।
यसले अभिभावकको 'वर्चस्व' घटाउँदैन। बरू बच्चालाई गल्ती स्वीकार गर्ने र सम्बन्ध सुधार्ने तरिका सिकाउँछ।
रेजिङ कन्सस सन्समा डा. शेफालीले आजका छोराहरू 'पुरूषत्वको संकट' मा रहेको तर्क गरेकी छन्।
समाजले उनीहरूलाई परस्पर विरोधी सन्देश दिन्छ — बलियो बन, तर प्रभुत्व नदेखाऊ। संवेदनशील बन, तर कमजोर नदेखिऊ। आत्मविश्वासी बन, तर धेरै ठाउँ नओगट। भावना व्यक्त गर, तर नरोऊ।
परिवार, विद्यालय र समाजले स्वस्थ पुरूषत्वको विश्वसनीय उदाहरण पेस गर्न नसकेपछि इन्टरनेटले 'प्रभावशाली पुरूष' को हो भन्ने स्थापित गर्छ।
विशेषगरी महिलामाथि हैकम र प्रभुत्व जमाउने 'अल्फा मेल' नै शक्तिशाली पुरूष हो भन्ने सन्देश दिन्छन्। इन्टरनेटमा आउने यस्ता सामग्रीले एक्लिएका र अलमलिएका किशोरलाई प्रभावित पार्छन्— तिमी कमजोर होइनौ, समाजले तिम्रो शक्ति खोसेको हो। त्यो शक्ति फिर्ता लिन अरूमाथि प्रभुत्व जमाऊ।
डा. शेफालीले आफूले छोराहरूलाई कमजोर बनाउन नखोजेको तर शक्तिको सही अर्थ बुझाउन खोजेको बताएकी छन्।
उनका अनुसार वास्तविक शक्ति भावना लुकाउनु होइन, बुझ्नु हो। प्रभुत्व होइन, चरित्र हो। आक्रामकता होइन, आत्मअनुशासन हो।
पुस्तकको बेलायती प्रकाशक पेन्गुइन र्यान्डम हाउसका अनुसार डा. शेफालीले छोराहरूमा इमानदारीमा आधारित आत्मविश्वास विकास गर्नुपर्ने बताएकी छन्। पुस्तकले समानुभूति, दृढता, उद्देश्य र आत्मअनुशासन विकास गर्न अभिभावकले कसरी सहयोग गर्न सक्छन् भन्ने व्यावहारिक उपाय दिएको छ।
छोराको रिस, उदासीनता वा एकान्तलाई खराब व्यवहारका रूपमा मात्र हेर्न नहुने उनले बताएकी छन्। उसलाई एक्लोपन, लाज, असफलताको डर वा जीवनको उद्देश्य नपाएको पीडाले पिरोलिरहेको हुन सक्ने उनको भनाइ छ।
शेफालीका अनुसार छोरीहरूको पनि समस्या फरक किसिमले देखिन्छ।
उनीहरू पढाइमा राम्रो गरिरहेका हुन सक्छन्। अतिरिक्त गतिविधिमा भाग लिइरहेका र आत्मविश्वासी देखिएका हुन सक्छन्।
तर भित्रभित्रै उनीहरूले निरन्तर आफैलाई अरूको आँखाबाट हेरिरहेका हुन सक्छन् — म राम्री देखिएकी छु? म धेरै मोटी त छैन? मेरो तस्बिरमा कति लाइक आयो? म सबैभन्दा अगाडि छु? मैले अस्वीकार गरेँ भने मानिसहरूले मलाई नराम्रो भन्लान्?
डा. शेफाली यसलाई 'पर्सेप्सन प्रिजन' अर्थात् 'अरूको नजरको जेल' भन्छिन्।
पहिले समाजले केटीलाई हेरिरहेको हुन्छ। बिस्तारै उसले समाजको त्यो नजर आफूभित्र राख्छे। त्यसपछि उसलाई नियन्त्रण गर्न बाहिर कसैको आवश्यकता पर्दैन। ऊ आफै आफ्नो शरीर, बोली, उपलब्धि र व्यवहारको निगरानी गर्न थाल्छे। आफै कैदी बन्छे।
डा. शेफालीका अनुसार सामाजिक सञ्जालले यही असुरक्षा अझ बढाउन सक्छ। सौन्दर्य, शरीर, लोकप्रियता र सफलताका कहिल्यै पूरा नहुने मापदण्डले छोरीहरूलाई निरन्तर तुलना र चिन्तातिर धकेल्छ।
बाहिरबाट सक्षम र सफल देखिएका छोरीहरू पनि भित्र चिन्ता, पूर्ण बन्नुपर्ने दबाब, एक्लोपन र आफू पर्याप्त नभएको भावनासँग जुधिरहेका हुन सक्छन्।
पेन्गुइन र्यान्डम हाउसका अनुसार रेजिङ कन्सस डटर्सले छोरीहरूमा देखिएको चिन्ता, पूर्णतावाद र आत्महानिको समस्या उठाएको छ। छोरीलाई आफ्नो भित्री आवाजलाई विश्वास गर्न, कुनै पनि कुरामा स्पष्ट सीमा कोर्न, र आफ्नो 'रियल सेल्फ' (वास्तविक व्यक्तित्व) सँग जोडिइरहन सिकाउनुपर्नेमा पुस्तकले जोड दिएको छ।
आमाले आफूलाई कुन स्थानमा राख्छिन्, त्यसले छोरीहरूमाथि प्रभाव पार्ने शेफालीको राय छ।
आमाले आफूलाई सधैं अन्तिम स्थानमा राख्छिन्, आफ्नो शरीरलाई माया गर्दिनन् वा घृणा गर्छिन् र अरूको स्वीकृति खोज्छिन् भने उनले छोरीलाई आत्मसम्मानको पाठ सिकाउन सक्दिनन्। छोरीले आमाले भनेको मात्र होइन, बाँचेको पनि हेर्छिन्। र, आमा बाँचेकोबाट धेरै सिक्छिन्।
अचेल अभिभावकहरू छोराछोरीको मोबाइल प्रयोगप्रति चिन्तित छन्।
तर आफूहरू नै बिहान उठेदेखि राति सुत्ने बेलासम्म फोनमा झुन्डिन्छन्। उनीहरूले बच्चालाई कस्तो उदाहरण दिइरहेका छन्?
द टेरी कोल शोसँगको हालैको अन्तर्वार्तामा डा. शेफालीले बच्चालाई सबैभन्दा बढी चाहिने कुरा अभिभावकको उपस्थिति भएको बताएकी छन्। छोराछोरी जन्माउने निर्णय गरेपछि अभिभावकले आफ्नो मनोरञ्जन, डिजिटल आनन्द र निरन्तर विचलित भइरहने बानीको केही हिस्सा त्याग्नुपर्ने उनको भनाइ छ।
किनभने, बच्चालाई अभिभावकको उपस्थिति चाहिन्छ। बच्चा बोलिरहेको बेला फोन हेरिरहँदै 'म सुनिरहेको छु' भन्नु पर्याप्त हुँदैन।
यसको अर्थ अभिभावक सधैं बच्चासँगै बस्नुपर्छ भन्ने होइन। तर सँगै भएको समयमा साँच्चै ऊसँगै हुनुपर्छ।
फिल गुड पोडकास्ट सँगको अन्तर्वार्तामा डा. शेफालीले परिवारमा डिजिटल अनुशासन बनाउनुपर्ने बताएकी छन्। यसमा फोनरहित खाना, उपकरण प्रयोगका स्पष्ट सीमा र अभिभावक तथा बच्चा दुवैलाई लाग्ने साझा नियम बनाउनुपर्छ।
के शेफालीले लेखेका वा भनेका सबै कुरा विज्ञानले प्रमाणित गरेको छ?
डा. शेफालीका धेरै विचार आधुनिक मनोविज्ञानका स्थापित अवधारणासँग मेल खान्छन्— अभिभावकको आत्मनियन्त्रण, सुरक्षित सम्बन्ध, भावनाको स्वीकार, स्पष्ट सीमा र झगडापछि सम्बन्ध सुधार।
तर 'कन्सस प्यारेन्टिङ' आफैमा छुट्टै र व्यापक रूपमा परीक्षण भइसकेको उपचार पद्धति होइन। यो मनोविज्ञान, सजगता र पूर्वीय दर्शन मिसिएको व्यापक जीवन–दृष्टि हो।
डा. शेफालीका प्रत्येक दाबी वैज्ञानिक रूपमा प्रमाणित भइसकेका छन् भन्न मिल्दैन। उनले प्रयोग गर्ने 'अहम', 'जागरण' र 'वास्तविक आत्म' जस्ता शब्द प्रभावशाली छन्। तर ती सधैं वैज्ञानिक रूपमा नाप्न सकिने अवधारणा होइनन्। हरेक समस्याको दोष अभिभावकलाई दिन पनि मिल्दैन।
बालबालिकाको स्वभाव, मानसिक तथा शारीरिक अवस्था, विद्यालय, साथी, आर्थिक अवस्था, हिंसा र डिजिटल प्रविधिले पनि उनीहरूको व्यक्तित्व र व्यवहार निर्माण गर्छन्। छोरा र छोरी भनेर छुट्ट्याउँदा उनीहरूले सामना गर्ने फरक दबाब बुझ्न मद्दत हुन्छ। तर सबै छोरा एउटै हुँदैनन्, न सबै छोरी।
डा. शेफालीले पनि पिपलसँगको अन्तर्वार्तामा लैंगिक अभिव्यक्ति जटिल हुने बताएकी छन्। त्यसैले छोराका अभिभावकले छोरी सम्बन्धी र छोरीका अभिभावकले छोरा सम्बन्धी पुस्तक पनि पढ्नुपर्ने उनको भनाइ छ।
'आखिर यो मानिस हुर्काउने कुरा हो,' उनले भनेकी छन्।
त्यसैले उनका विचारलाई अन्तिम सत्यका रूपमा होइन, आफ्नो परिवार हेर्ने ऐनाका रूपमा लिनु बढी उपयोगी हुन्छ।
नेपालमा अझै पनि धेरै अभिभावकका लागि असल बच्चा भनेको आफूले भनेको मान्ने आज्ञाकारी बच्चा हो। उसले ठूला मानिसको अगाडि प्रश्न गर्दैन। आफ्नो असहमति दबाउँछ। परिवारले छानेको विषय पढ्छ। परिवारले उचित ठानेको पेसा र जीवनको बाटो रोज्छ।
छोरालाई अधिकार दिइन्छ तर भावना व्यक्त गर्न सिकाइँदैन। छोरीलाई जिम्मेवार बनाइन्छ तर 'हुँदैन' भन्न सिकाइँदैन। जाँचमा ल्याएको अंक वा उसले खाएको तलबको अंकलाई योग्यता ठानिन्छ। ऊ आज्ञाकारी छ भने संस्कारी ठानिन्छ।
डा. शेफालीले अभिभावकलाई छोराछोरीबाट अपेक्षा नराख्न भनेकी होइनन्। जिम्मेवारी नदिन वा गलत व्यवहार रोक्न नहुने भनेकी पनि होइनन्।
खासमा उनले हामी सबैलाई सोधेको प्रश्नको मर्म अर्कै छ— तपाईंले बनाएको सीमा बच्चाको हितका लागि हो कि आफ्नो नियन्त्रणका लागि?
तपाईंको रिस उसको गल्ती अनुसार छ कि आफ्नो डर, डाह अनुसार? तपाईं उसलाई बाटो देखाउँदै हुनुहुन्छ कि आफ्नो अधुरो सपना बोकाउँदै हुनुहुन्छ? र, उसलाई सफल बनाउन खोज्दाखोज्दै आफूजस्तै बन्न बाध्य पार्दै त हुनुहुन्न?
छोराछोरी हुर्काउने क्रममा यी प्रश्नको उत्तर सधैं सजिलो हुँदैन।
तर डा. शेफाली भन्छिन्— परिवर्तनको सुरूआत बच्चाबाट होइन, यिनै प्रश्न आफूलाई सोध्ने आँटबाट तयार हुन्छ।