नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेको समयमा प्रधानमन्त्री बालेन शाहका मुख्य राजनीतिक सल्लाहकार कुमार बेनले उनको मोबाइल दुई दिनसम्म आफ्नो घरमा राखेको घटनाको अनधिकृत गतिविधिबारे छानबिन हुनुपर्ने माग गरेका छन्।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण तथा जिल्लाबाट केन्द्रीय सदस्य लगायत पदाधिकारीमा निर्वाचित भएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले इनमको मोबाइल दुई दिनसम्म बेनले आफ्नो घरमा राखेको कुराले गम्भीर आशंका पैदा गरेको बताए।
'इनमका दुई वटा मोबाइल सेट दुई दिनसम्म कहाँ पुग्छन्? प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घरमा पुग्छन्। कुमार बेन कुन निकायका मानिस हुन् र उनलाई आपराधिक घटनाको छानबिन गर्ने हैसियत कसले दियो?' चौधरीले भने, 'तपाईंले कानुनी राज्य तपाईंको मनको चाहना अनुसार चलाउने कुरा कांग्रेसलाई स्वीकार्य हुन सक्दैन। हामी विधिको शासनमा विश्वास गर्छौं।'
सहमहामन्त्री चौधरीले दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शक्तिशाली सरकारलाई कुन कानुनले काम गर्न दिइरहेको छैन र कुनै व्यक्तिविशेषले मनलाग्दी गम्भीर अपराधमा मुछिएका व्यक्तिको मोबाइल अनधिकृत रूपमा घरमा लगेका हुन् भन्ने प्रश्न गरे।
उनले अहिलेको शक्तिशाली सरकारले कुनै कानुनी व्यवस्था फेर्न चाहेको भए संसद्मा लगेर त्यसलाई संविधान अनुरूप कानुनी मान्यता दिएर काम गर्न आग्रह गरे।
'तर, त्यो इनमको मोबाइल कुमार बेनको घरमा किन लगियो? कसको आदेशमा त्यहाँ पुर्याइएको हो? यसको छानबिन हुनुपर्छ कि पर्दैन,' चौधरीले भने, 'जे मन लाग्यो, तथानाम गर्ने छुट कहाँबाट प्राप्त भइरहेको छ?'
उनले यो विषयलाई कांग्रेसले गम्भीर रूपमा लिइरहेको बताए।
'हाम्रा आदरणीय सभापति गगन थापामाथि लगाइएको १८ करोडको आरोपको सत्य के हो, तथ्य के हो? तपाईं यदि बनावटी कथा बनाएर कतै पनि दाग नलागेको एउटा मानिसलाई सामाजिक सञ्जालबाट बदनाम गर्ने प्रयास गर्नुहुन्छ भने त्यसको खुलेरै प्रतिवाद गर्छौं,' चौधरीले भने, 'तपाईंहरूलाई हाम्रो चुनौती छ, पुष्टि गर्नुहोस्—पैसा दिएको आधार के हो, कुन बेला दिइएको हो, कोसँग संवाद भएको हो?'
कांग्रेस सहमहामन्त्री चौधरीले इनमको मोबाइल प्रधानमन्त्री बालेन शाहको आदेशमा प्रहरीकै मानिसहरूले कुमार बेनसम्म पुर्याएको आशंका व्यक्त गरे।
फरेन्सिक जाँच नगरी आपराधिक पृष्ठभूमिका इनमको मोबाइल बेनको घरमा पुगेपछि त्यसमा भएका धेरै सबुत प्रमाण आफूखुसी चलाइएको तथा नष्ट गरिएको हुन सक्ने उनले आशंका व्यक्त गरे।
'इनमले कोसँग केकस्ता संवाद गरेका थिए? अहिले सामाजिक सञ्जाल हेर्दा त इनम प्रधानमन्त्री बालेनको चुनावी क्याम्पेनर थिए। उनी पटकपटक बेनसँग बसेका तस्बिरहरू सामाजिक सञ्जालमा आएका छन्,' चौधरीले भने, 'तपाईंहरूसँग निकट रहेका मानिस, तपाईंसँग सम्बन्ध भएका मानिस अनि गगन थापासँग कहिल्यै चिनजान नभएका मानिस जोडिएर करोडौंको लेनदेन भयो भनेर जसरी परिस्थितिलाई गिजोल्ने काम भएको छ, यो आपराधिक चरित्र हो।'
सहमहामन्त्री चौधरीले अनुसन्धान गर्नुपर्ने निकायमा पुग्ने मोबाइल सेट कसको इशारामा र किन कुमार बेनको घरमा पुर्याइएको हो भन्ने विषयमा छानबिन हुनुपर्ने कुरा पटक पटक दोहोर्याएका थिए।
उनले भने, 'तपाईंले के के हटाउनुभयो त्यहाँ, के के डिलिट गर्नुभयो, के थप्नुभयो भन्ने कुराको जबाफ दिनु पर्दैन?'
साथै, उनले यति गम्भीर विषयलाई प्रधानमन्त्री शाहले बेवास्ता गरे त्यो प्रजातन्त्र र नागरिकको संवैधानिक अधिकारमाथिको गम्भीर अपराध ठहर हुने बताए।
अहिलेका प्रधानमन्त्रीले संसद छलेर भाग्ने गरेको, दलहरूसँग संवाद लत्याउँदै आएको, मिडिया हाउसमा गएर पत्रकारलाई पक्राउ पुर्जीबिना पक्राउ गर्ने गरेको, आफ्ना सभापति थापासहित मिडिया हाउसका कार्यालयअगाडि अवैधानिक रूपमा गाडी पार्किङ गर्ने गरेका जस्ता गतिविधिले प्रजातन्त्रलाई अन्धकारको सुरूङतर्फ लैजाने षड्यन्त्र भइरहेको छ कि भन्ने संशय पैदा गरेको चौधरीले बताए।
कुन बेला कसलाई पक्राउ गर्ने र मुद्दा चलाइने हो भनेर कर्मचारी, न्यायाधीश, प्रहरी र व्यवसायी सबै आतंकित रहेको भन्दै उनले सरकार स्वेच्छाचारी रूपमा अगाडि बढे कांग्रेस त्यसको खिलाफमा ओर्लिने बताए।
साथै, आफूले अत्यन्तै सम्मान गर्ने कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले समेत गगन थापामाथि १८ करोडको आरोप लागेको घटना अचम्मलाग्दो रहेको चौधरीले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अनिता देवकोटा, प्रचण्ड विक्रम न्यौपाने र कमल किशोर घिमिरेले पनि धारणा राखेका थिए।
त्यस्तै, पूर्वकेन्द्रीय सदस्य केशव आचार्य, जिल्ला सभापति शंकर डाँगी र संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि सम्बोधन गरेका थिए।
संसद छल्ने, राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने र प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्ने सरकारका गतिविधिको भण्डाफोर गर्न उनीहरूले कार्यकर्तालाई आग्रह गरेका थिए।