युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे। तर भएका स्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे।
उनले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए।
उनले भने, ‘ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गरौँ। त्यसलाई अपनाउन नसके यस्ता कार्यक्रमको कुनै अर्थ रहँदैन। यसको अर्थ र गरिमा राखिदिन आफ्नो जीवनमा कार्यान्वयन गरिदिन अनुरोध गर्न चाहन्छु। हामीले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ। सकारात्मकता नहुने हो भने यी कुराहरू कार्यान्वयन हुँदैनन्। एक अर्काप्रति विश्वास र सकारात्मकता आउनु जरूरी छ। सरकारले गर्नुपर्ने कार्यहरू हामी गर्नेछौँ। नेपाल सरकार आर्थिक रूपमा कमजोर रहेको देश नै हो। त्यसैले चाहेको बेलामा सबैकुरा गर्न सकिरहेका छैनौं। भएका स्रोत साधनबाट हामी चल्नुपर्छ।’
मन्त्री गुप्ताले सकारात्मक रूपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने बताए। –न्युज एजेन्सी नेपाल