पोखराकी शर्मिला शाह विगत १३ वर्षदेखि फिटनेसमा सक्रिय छन्। विगत ५ वर्षदेखि उनी पोखराका विभिन्न फिटनेस सेन्टरमा तालिम दिँदै आएकी छन्।
सन् २०१९ मा जब कोभिड–१९ महामारी आयो। उनले पावर लिफ्टिङ सिक्न थालिन्। सँगसँगै फिटनेसको तालिम पनि दिन थालिन्।
पोखराका अधिकांश जिम वा फिटनेस सेन्टरका प्रशिक्षक पुरूष छन्।
शर्मिलालाई प्रशिक्षकहरूले हेभी वेट उचाल्ने काम महिलाले गर्न हुँदैन भन्थे। उनलाई प्रशिक्षकका यी कुरा चित्त बुझेन। अनि आफू पनि पावर लिफ्टिङमा आकर्षित भइन्।
‘लकडाउनपछि जिम जाँदा हेबी वेट उचाल्दा छोरा मान्छे जस्तो हुन्छ। छोरी मान्छेले हेबी वेट उचाल्ने होइन भनेर मलाई प्रशिक्षकले भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मलाई यो कुरा चित्त बुझेन। हामीले किन नसक्ने भनेर झन् यसैमा फोकस भएँ।’
पावर लिफ्टिङ थालेदेखि नै उनले विभिन्न प्रतियोगितामा भाग लिन थालिन्। पोखराका जिमखानाले आयोजना गरेका प्रतियोगिता होस्, कि राष्ट्रिय प्रतियोगिता। उनले अवसर आएका प्रतियोगिता छुटाइनन्।
पावर लिफ्टिङ प्रतियोगितामा भाग लिँदा उनी कहिल्यै हारिनन्। अधिकांश प्रतियोगितामा गोल्ड मेडल जितेकी शर्मिलाले ३ महिनाअघि काठमाडौंमा भएको एसियन गेममा मात्र सिल्भर मेडल जितेकी थिइन्।
नेपालमा सन् २०२४ र २०२५ मा आयोजना भएको राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा उनी ओभरल च्याम्पियन बनिन्।
पावर लिफ्टिङमा रूचि बढाउँदै लगेकी शर्मिलाले गत नोभेम्बर २७ देखि ३० गतेसम्म श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा फेरि नेपालका तर्फबाट सहभागी हुने अवसर पाइन्।
उक्त प्रतियोगितामा नेपालबाट महिला र पुरूष गरी २७ जना सहभागी थिए।
शर्मिलाको नजर आफ्नो ८४ केजी वेट समूहको गोल्ड मेडलमा मात्र थिएन, ओभरल टाइटल जित्नु थियो।
प्रतियोगितामा उनीभन्दा अघि भारतकी खेलाडी सरिता शर्माले वेट उचालेकी थिइन्। ओभरल टाइटलका लागि उनलाई जित्न शर्मिलालाई सजिलो थिएन। भारतीय खेलाडी सरिता पहिलो र दोस्रो दिन ओभरलमा अगाडि थिइन्। उनलाई जसरी पनि जित्नुपर्छ भनेर शर्मिलाले मानसिक रूपमा आफूलाई तयार पारिन्।
‘हाम्रोभन्दा अगाडि भारतकी सरिताले ठूलो चुनौती दिनुभएको थियो, उहाँलाई जित्न सजिलो थिएन,’ उनले भनिन्, ‘थोरै प्वइन्टले भए पनि जित्नुपर्छ भनेर हामीले योजना बनायौं।’
वर्ल्ड पावर लिफ्टिङ फेडेरेसनको आयोजना र श्रीलंका पावर लिफ्टिङ फेडेरेसनको संयोजनमा भएको प्रतियोगितामा शर्मिलाले आफ्नो वेट ८४ केजी समूहमा गोल्ड मेडल जितिन्।
भारतकी सरितालाई हराउँदै ओभरलमा पनि उनी च्याम्पियन बनिन्। भारतकी सरिता उपविजेता बनिन्।
भारत, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, रसिया लगायतका देशका खेलाडी सहभागी भएको प्रतियोगितामा नेपालबाट सहभागी खेलाडी शर्मिलाले महिलातर्फ च्याम्पियन बनिन्।
यसरी देशको प्रतिनित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाँदा आउँदाका सम्पूर्ण खर्च भने व्यक्तिगत रूपमा आफूले गरेको उनले बताइन्।
नेपाल पावर लिफ्टिङ फेडेरेसन सरकारी निकायमा नवीकरण नभएकाले समस्या परेको उनले बताइन् ।
‘श्रीलंकामा गेम खेल्न जाँदा सबै खर्च आफ्नै हो। ओभरल विजेता भए पनि पाउने भनेको पदक मात्र हो,’ उनले भनिन्, ‘हाम्रो नेपाल पावर लिफ्टिङ फेडेरेसन नवीकरण नभएकाले समस्या भयो।’
पावर लिफ्टिङ खेलमा विश्व विजेता बनेकी शर्मिला बिहीबार पोखरा फर्किइन्।
उनलाई पोखरा विमानस्थलमा बुल्समेन क्लबले भव्य स्वागत तथा सम्मान गर्यो।
क्लबका सदस्य रहेकी शर्मिला अन्तर्राष्ट्रिय प्रतियोगितामा ओभरल च्याम्पिन बनेर देशको नाम राखेकाले स्वागत तथा सम्मान गरेको क्लबका अध्यक्ष नुना गुरूङले बताए। उनको स्वागतमा कास्की पावर लिफ्टिङ संघ लगायत खेलाडीहरू पनि सहभागी थिए।
‘पावर लिफ्टिङमा लागेको ५ वर्षमै मैले वर्ल्ड च्याम्पियन उपाधि जित्न सक्छु भनेर सोचेकी पनि थिइन्,’ शर्मिलाले भनिन्, ‘आत्मविश्वासका साथ निरन्तर लागिपर्यो भने सकिँदो रहेछ।’