बुटवल उपमहानगरपालिकामा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ सय बढी विद्यार्थी सहभागी हुँदैछन्।
नगर खेलकुद विकास समितिले शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो।
उक्त प्रतियोगितामा उपमहानगर पालिकाभित्रका सामुदायिक तथा निजी गरी ४२ वटा विद्यालयबाट १ हजार ५८८ जना विद्यार्थीले भाग लिन लागेका हुन्।
बुटवल उपमहानगरपालिका वडा नंं ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगितामा ९४१ छात्र र ६०७ छात्राले सहभागिता जनाउने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।
आगामी सोमबारसम्म हुने उक्त प्रतियोगितामा एथलेटिक्सतर्फ ६, कराँतेमा ६, तेक्वान्दोमा ६ तथा भलिबल तथा कबड्डी खेल विधाहरूमा गरी ३५० वटा उपाधिका लागि विद्यार्थीहरू प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विभिन्न विधामा १ हजार देखि २५ हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिने संयोजक पियाले बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगितालाई खेलकुद मेलाको रूपमा लिइएको उल्लेख गर्दै यही प्रतियोगिताबाट खेलकुद क्षेत्रमा विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न सकिने बताए।
नगरप्रमुख पाण्डेले खेलकुदले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै सामूहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने भएकोले उपमहानगरपालिकाले विद्यालय तहको खेलकुदलाई महत्त्व दिएको बताए।