नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा २१ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गरिएको छ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ गतेदेखि तीन दिनसम्म एकुरेसी प्रतियोगिता हुन लागेको हो।
एकुरेसी प्रतियोगिता अन्तर्गत खेलाडीले तोकिएकै स्थानमा ल्याण्ड गर्नुपर्ने जनाएको छ।
प्रतियोगिता अवधिभर पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा ल्याण्ड गर्ने नाका पूर्वअध्यक्ष एवं खेल संयोजक सुनिलबहादुर भट्टराईले बताए।
उनका अनुसार यस प्रतियोगितालाई फेडेरेसन एरोनटिक इन्टरनेसनलले क्याटागोरी सेकेण्ड स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको छ।
पोखरामा दुई दशकदेखि प्याराग्लाइडिङ खेल प्रवर्द्धन गर्दै आएको नाले यस प्रतियोगितामार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने र प्याराग्लाइडिङमा पर्यटकको अभिरूचि जगाउने लक्ष्य राखेको छ।
प्रतियोगितामा नेपाली र विदेशी गरी करिब १०० जना खेलाडी सहभागी हुने अनुमान गरिएको नाका अध्यक्ष अनिल केसीले बताए। यस प्रतियोगिताले नेपालको प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन हुने समेत आयोजकले अपेक्षा राखेका छन्।
‘यस प्याराग्लाइडिङ प्रतियोगिता पोखराको प्याराग्लाइडिङ व्यवसायलाई पुरानै लयमा फर्काउँछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने, ‘यसले नेपालकै पर्यटन प्रवर्द्धन गर्छ।’
प्रतियोगितामा पुरूष र महिला एकुरेसी विद्यामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश: १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार सहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ। टिम विधामा विजेता टोलीलाई ७५ हजार, उपविजेतालाई ५० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार दिने आयोजकले बताएका छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितालाई सुरक्षित बनाउन मौसम पूर्वानुमानको अध्ययन, उद्धार टोली, मोटरबोट, स्वास्थ्यकर्मीको टोली र स्वयंसेवक परिचालन गरिनेछ। प्रतियोगितामा सहभागी खेलाडीलाई बीमाको व्यवस्था समेत गरिएको अध्यक्ष केसीले बताए।
प्रतियोगिता सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोतिगा सफल बनाउन सहकारी तथा निजी क्षेत्रलाई सहकार्यको अपिलसमेत गरेको अध्यक्ष केसीले बताए।
यसअघि नवौं राष्ट्रिय खेलकुदका क्रममा २०८९ असोज ३० गते प्याराग्लाइडिङतर्फ खेल हुँदै गर्दा नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएपछि एकल उडान बन्द भएको थियो। एकल उडान बन्द हुँदा प्याराग्लाइडिङ प्रतियोगितासमेत हुन पाएको थिएन। नागरिक उड्डयन प्राधिकरणले एकल उडान खुलाएसँगै प्रतियोगिता आयोजना गरिएको हो।
पोखरामा नियमित आयोजना हुने प्याराग्लाइडिङ प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको नाका उपाध्यक्ष खेमराज आचार्यले बताए।
१८ औं एसियाली खेलकुद प्रतियोगितामा पोखराका खेलाडी योगेश भट्टराईले प्याराग्लाइडिङतर्फ रजत पदक जितेका थिए। एसियाली खेलकुदमा प्याराग्लाइडिङबाहेक अरू कुनै पनि खेलमा नेपालले रजत पदक जित्न सकेको छैन।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले प्याराग्लाइडिङ पोखराको मात्र नभएर नेपालकै साहसिक पर्यटनको पहिचान भएको बताए। यस प्रतियोगिताले आन्तरिक र बाह्य दुबैतर्फ पर्यटन प्रवर्द्धन गर्न भूमिका खेल्ने भन्दै सहकार्य गर्न तयार रहेको बताए।