पोखरामा आयोजित 'एक्स्ट्रिम मोटो एन्डुरो क्रस च्याम्पियनसिप' मा महिलातर्फको उपाधि चर्चित मोटो भ्लगर सुरक्षा केसीले जितेकी छन्।
पोखरा महानगरपालिका–२३, बाम्दी क्षेत्रमा शुक्रबार र शनिबार सम्पन्न प्रतियोगितामा सुरक्षाले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
उपाधिसँगै सुरक्षाले एक लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। उनले निर्धारित दूरी ४२ मिनेट ५५.१ सेकेन्डमा पूरा गरिन्। सुस्मिता अधिकारी दोस्रो र उमादेवी तामाङ तेस्रो स्थानमा रहे। सुस्मिताले ५० हजार र उमादेवीले २५ हजार रूपैयाँ प्राप्त गरे।
पुरूषतर्फ आशुतोष धन्जु प्रथम बने। विविदजंग थापा (एमआरबी) दोस्रो तथा राजेश मगर तेस्रो स्थानमा रहे।
निर्धारित दूरी आशुतोषले ४७ मिनेट ३.१ सेकेन्डमा, विविदजंगले ४९ मिनेट १४.५ सेकेन्डमा र राजेशले ४९ मिनेट १९.३ सेकेन्डमा पूरा गरे। उनीहरूले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रूपैयाँ पुरस्कार पाए।
४.८ किलोमिटर लामो विशेष ट्र्याकमा सम्पन्न प्रतियोगितामा पुरूष र महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो। फाइनल चरणमा महिलातर्फ ५ राउन्ड र पुरूषतर्फ ७ राउन्ड पूरा गरेपछि दूरी पूरा हुने व्यवस्था गरिएको थियो।
एड्भेन्चर स्पोर्टस हब नेपालको आयोजनामा तथा पञ्चासे आदर्श क्लब र नील गगन युवा क्लबको सह-आयोजनामा च्याम्पियनसिप भएको थियो।
पुरूषतर्फ ५३ र महिलातर्फ ७ जना राइडर सहभागी भएका थिए।