नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टी-२० अन्तर्राष्ट्रिय खेलमा ऐतिहासिक शतक प्रहार गरेका छन्। पारसले शनिबार त्रिकोणीय सिरिजअन्तर्गत सिंगापुरविरुद्ध शतक प्रहार गरेका हुन्।
सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा पारसले ४९ बलमा शतक पूरा गरेका थिए। यो नेपालका लागि तीव्र शतक हुन्। उनले शतक प्रहार गर्ने क्रममा ६ चौका र ९ छक्का हिर्काए। नेपालले ९ विकेटले जितेको खेलमा पारसले ५२ बलमा नटआउट १०६ रन जोडे।
यो नेपालका लागि पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक हान्ने खेलाडी बनेका पारसको व्यक्तिगत पाँचौ अन्तर्राष्ट्रिय शतक हो।
पारस नेपालका लागि पहिलो एकदिवसीय शतक बनाउने खेलाडी समेत हुन्। उनले गत वर्ष युएईविरुद्धको एकदिवसीय सिरिजमा शतक हानेका थिए। त्यतिबेला उनले एक सय रन पूरा गर्ने क्रममा उनले ९२ बल खेलेका कुल ११५ रन बनाएका थिए।
दुई वर्षअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा पनि पारसले शतक प्रहार गरेका थिए। उनले खेलमा नटआउट १ सय १२ रन जोडेका थिए।
पारसले सन् २०१५ मा नामिबिया विरुद्ध दोस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। कीर्तिपुर मैदानमा भएको खेलमा पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेलेका थिए।
पारसले सन् २०१२ मा पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। उनले एसिसी ट्रफी इलाइटमा कुवेत विरुद्धको खेलमा १ सय ६ रन प्रहार गरेका थिए। खेलमा उनले ७७ बलमै शतक प्रहार गरेका थिए।