आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुन लागेको आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेटलाई लिएर अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) बीच विवाद देखिएको छ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतभन्दा बाहिर सार्न आइसिसीलाई पत्राचार गरेको थियो।
'इएसपीएन क्रिकइन्फो'का अनुसार आइसिसीले यो माग ठाडै अस्वीकार गरिदिएको छ। आइसिसीले बंगलादेशलाई ‘कि त भारतमै आएर खेल्नु, नत्र अंक गुमाउन (हार स्वीकार्न) तयार हुनु’ भनेर कडा चेतावनी दिएको बुझिएको छ।
आइसिसीले त्यस्तो कडा चेतावनी दिएको समाचार आए पनि बंगलादेश क्रिकेट बोर्डले भने आफूहरूलाई त्यस्तो कुनै धम्की वा अन्तिम चेतावनी (अल्टिमेटम) नआएको बताएको छ। यसरी दुई पक्षबीच कुरा बाझिएको देखिन्छ।
यो विवाद खासमा बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानबाट सुरु भएको हो। उनलाई आइपिएलको टोली 'कोलकाता नाइट राइडर्स' ले ९ करोड २० लाख भारुमा किनेको थियो।
तर, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले अचानक कोलकातालाई मुस्ताफिजुरलाई टोलीबाट निकाल्न (रिलिज गर्न) निर्देशन दियो। मुस्ताफिजुरलाई किन निकाल्न लगाइयो भन्ने स्पष्ट कारण भारतले नदिए पनि राजनीतिक नेताको दबाब भएको बुझिएको छ। यसै कुरामा बंगलादेश बोर्ड रुष्ट भएको हो।
विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदैछ। बंगलादेशको समूहमा नेपाल पनि छ। बंगलादेशले आफ्ना सुरुका तीन खेल कोलकातामा खेल्ने तालिका छ भने फेब्रुअरी १७ मा नेपालसँग मुम्बईमा खेल्ने तय भएको छ।