नेपाली राष्ट्रिय टिमका अलराउन्डर पारस खड्का र लेगस्पिनर सन्दीप लामिछानेले कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।
दुवै खेलाडीले युएईमा हुने टी–१० लिग खेल्नका लागि नेपाली राष्ट्रिय टिमको खेल गुमाउने भएका हुन्।
टी–१० लिग र इमर्जिङ टिम्स कप एकै समयमा पर्दा दुवैले टी–१० लिग रोजेका हुन्।
'दुवै खेलाडीले टी–१० का लागि नो अब्जेक्सन लेटर (एनओसी) माग्नु भएको छ,' क्यानका सचिव अशोकनाथ प्याकुरेलले सेतोपाटीलाई भने,'एसिसी इमर्जिङ टिम्स एक साताअघि मात्र खेल्ने पक्का भएको हो। उहाँहरुले त्यसअघि नै टी–१० लिग खेल्ने प्रशिक्षकलाई जानकारी गराउनु भएको थियो। सहमतिअनुसार टी–१० खेल्न पाउ भनी उहाँहरुले माग्नु भएको एनओसी पाउनुहुन्छ।'
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।
कात्तिक २९ गतेदेखि युएईमा हुने टी–१० लिगमा पारस टिम अबुधावीमा आबद्ध भएका थिए। उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्।
पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर मोइन अली छन्।
सन्दीप कर्नाटकामा आबद्ध भएका थिए। सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए। गत सिजन केरलामा ३० हजार अमेरिकी डलरमा आबद्ध भएका उनी यस सिजन कर्नाटकामा ४५ हजार डलरमा आबद्ध भएका थिए।
प्रतियोगिता युएई अबुधावीको शेख जायद क्रिकेट रंगशालामा १० दिन चल्नेछ।
१० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ।
लिगमा कर्नाटका, टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।