अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन गम्भीर बिरामी भएका छन्।
'मेनिन्जाइटिस' देखिएपछि ५४ वर्षीय मार्टिनलाई अहिले अस्पतालमा 'इन्ड्युस्ड कोमा' (औषधि दिएर कोमामा राखिएको अवस्था) मा राखिएको छ।
मेनिन्जाइटिस एउटा गम्भीर रोग हो, जसले सिधै दिमागमा असर गर्छ, त्यसैले अहिले उनलाई विशेष निगरानीमा राखिएको छ।
मार्टिन डिसेम्बर २६ (बक्सिङ डे) मा एक्कासि बिरामी परेका थिए। अहिले उनको अस्ट्रेलियाको क्विन्सल्याण्डस्थित एक अस्पतालमा उपचार भइरहेको छ।
उनलाई कोमामा राखिएको भए पनि डाक्टरहरूले आगामी केही दिनमा उनलाई होसमा ल्याउन सकिने आशा व्यक्त गरेका छन्।
उनका नजिकका साथी तथा पूर्व क्रिकेटर एडम गिलक्रिस्टले मार्टिनको परिवार यतिबेला निकै चिन्तित रहेको र सबैको प्रार्थनाको खाँचो रहेको बताएका छन्। क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मार्टिन अस्ट्रेलियाका निकै प्रभावशाली खेलाडी हुन्। उनले अस्ट्रेलियाका लागि ६७ वटा टेस्ट म्याच खेलेका थिए। दुई पटक विश्वकप क्रिकेटको उपाधि जितेका थिए।
सन् २००३ को विश्वकप फाइनलमा भारत विरुद्ध औंला भाँचिएको अवस्थामा पनि अविजित ८८ रन बनाएर टिमलाई जिताएका थिए। उनले टेस्ट क्रिकेटमा ४,४०६ रन र एकदिवसीयमा ५,३४६ रन बनाएका छन्।