भुटानका २२ वर्षीय बायाँ हाते स्पिनर सोनाम यशेले टी-२० क्रिकेटकमा विश्व कीर्तिमान हासिल गरेका छन्।
उनी एउटै टी-२० खेलमा ८ विकेट लिने संसारकै पहिलो बलर बनेका छन्। चाहे त्यो अन्तर्राष्ट्रिय खेल होस् वा अन्य कुनै घरेलु खेल, ८ विकेट लिने कीर्तिमान सोनामको नाममा दर्ता भएको हो।
भुटानको गेलेफुमा म्यानमा विरुद्ध भएको खेलमा सोनामले मात्र ४ ओभर बलिङ गरेर ७ रन खर्चिदै ८ विकेट लिए।
भुटानले सुरुमा ब्याटिङ गर्दै १२७ रन बनाएको थियो। जवाफमा म्यानमारको टोली सोनामकै घातक बलिङका कारण मात्र ४५ रनमा अलआउट भयो। जारी प्रतियोगितामा उनले ४ खेलमा १२ विकेट लिइसकेका छन् र अन्तिम खेल सोमबार हुनेछ।
यसअघि पुरुष अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा मलेसियाका स्याजरुल इद्रस र बहराइनका अली दाउदले एकै खेलमा ७-७ विकेट लिन सकेका थिए। अन्य घरेलु लिगहरूमा कोलिन एकरम्यान र तास्किन अहमदले पनि ७ विकेट लिएका थिए।
महिला क्रिकेट इन्डोनेसियाकी रोहमालियाले ७ विकेट लिएको रेकर्ड छ। उनी लगायत अन्य चार जना महिला खेलाडीले पनि ७ विकेट लिएका छन्, तर ८ विकेट भने अहिलेसम्म कसैले लिन सकेका थिएनन्।
सोनामले सन् २०२२ जुलाईमा मलेसिया विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका थिए। पहिलो खेलमै ३ विकेट लिएर उनी चर्चामा आएका थिए। उनले अहिलेसम्म ३४ अन्तर्राष्ट्रिय खेलमा जम्मा ३७ विकेट लिइसकेका छन्। यसरी २२ वर्षकै उमेरमा ८ विकेट लिएर सोनामले विश्व क्रिकेटमा आफ्नो र भुटानको नाम सुनौलो अक्षरले लेखेका हुन्।