अस्ट्रेलियाको शीर्ष डिभिजनको महिला फुटबल लिग निन्जा ए लिगमा नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बा आबद्ध वेलिङटन फोनिक्सले लगातार दोस्रो जित निकालेको छ।
वेलिङटनले मंगलबार भएको खेलमा वेस्टन सिड्नी वेन्डरर्स एफसीलाई ३-० गोलले पराजित गरेको हो।
खेलमा साम्बाले एक गोल गर्दा अरु दुई गोलका लागि पास दिइन्।
सातौं मिनेटमा मेनको गोलबाट वेलिङटनले अग्रता लियो। यो गोलका लागि सम्बाले पास दिएका थिए।
साम्बाले ४८ मिनेटमा टोलीको अग्रता दोब्बर पारिन्।
५२ मिनेटमा मेनले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गर्न सफल भइन्। सो गोलका लागि पनि साम्बाले नै पास उपलब्ध गराएका थिइन्।
साम्बाले वेलिङटनका लागि लगातार दोस्रो खेलमा गोल गर्न सफल भएकी हुन्। यसअघि उनले सिड्नीविरूद्ध वेलिङटनले ७-० गोल जित निकाल्दा २ गोल गरेकी थिइन्।
साम्बा आबद्ध न्युजिल्यान्डको वेलिङटन लगातार दोस्रो जितसँगै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले ७ खेलबाट ११ अंक जोडेको छ। जसमा ३ जित र २ बराबर सामेल छन्।
११ टोली आबद्ध लिगमा वेलिङटन न्युजिल्यान्डबाट प्रतिस्पर्धा गर्ने एक्लो टोली हो। लिगमा बाँकी दश टोली अस्ट्रेलियाका छन्।