नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्।
उनी ट्रिनिडाड एन्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेपछि उतैबाट मंगलबार युएई पुगेका हुन्।
युएई पुगेका सन्दीप अब त्यहाँ पाँच दिनको क्वारेन्टिनमा बस्नेछन्। क्वारेन्टिनमा रहदा उनको कोरोना भाइरसको पिसिआर टेस्ट हुनेछ। टेस्ट नेगेटिभ आए मात्र उनले आइपिएल खेल्न पाउनेछन्।
यस वर्षको आइपिएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ।
सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दैछन्। आइपिएल आगामी असोज ३ गतेदेखि सुरू हुँदैछ।
सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ।
सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए।
नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए।
यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका थिए।
सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो।
सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए। उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे।