नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि 'फिटनेस ट्रेनर' नियुक्त गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारतका आशय हतकर नेपाली टिमको फिटनेस ट्रेनरमा नियुक्त भएका छन्।
उनी मंसिर १० गतेदेखि सुरु हुने नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि फिटनेस ट्रेनर नियुक्त भएका हुन्।
क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ।
क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो।
बन्द प्रशिक्षण शुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिनेछ। क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्।
प्रशिक्षकमा जगत टमाटा छन्। वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किएका छन्।
नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ। त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।