विवादित बंगलादेश प्रिमियर लिग (बिपिएल) टी-२० फ्रेञ्चाइज लिग आजदेखि सुरू हुँदैछ।
बिपिएलमा भएको भ्रष्टाचारको विषयमा छानविन समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि सिजनको बिपिएल सुरू हुन लागेको हो।
यो सिजन नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले पनि बिपिएल खेल्दैछन्। सन्दीप आबद्ध राजशाही वारियर्सले सिल्हेट टाइटन्ससँग दिउँस पौने तीन बजे प्रतिस्पर्धा गर्दैछ।
भ्रष्टाचारको छानबिन प्रतिवेदन ९०० भन्दा बढी पृष्ठ लामो छ। एउटा स्वतन्त्र छानबिन समितिले प्रतिवेदन बंगलादेश क्रिकेट बोर्डलाई दुई महिना बुझाएको थियो।
क्रिकेट बोर्डले प्रतिवेदनमा नाम जोडिएका क्रिकेटरहरूको नाम सार्वजनिक गरेको त छैन। तर गत महिना नौ जना खेलाडीलाई यो सिजनको खेलाडी अक्सनको सूचीमा राखेको थिएन।
अक्सनको सूचीमा नपरेका खेलाडीमध्ये केहीले सार्वजनिक रूपमा रिस पोखेका छन्। एक जनाले त क्रिकेट बोर्डविरुद्ध मुद्दा हाल्ने धम्की दिएका छन्।
प्रतिवेदनको निष्कर्ष र पूर्णपाठ अहिलेसम्म सार्वजनिक भएको छैन। यो सार्वजनिक नहुँदासम्म बिपिएलको इमानदारीमाथि प्रश्न उठिरहने छ।
फ्रेन्चाइजीसँग खेलाडीको पैसा तिर्ने क्षमता छ त? भन्ने प्रश्न पनि उठेका छन्। एउटा फ्रेन्चाइजीले खेलाडीको पारिश्रमिक दिने क्षमता नभएकाले बिपिएलबाट हात झिकेको छ। यसले क्रिकेट बोर्डले नै नयाँ टिम मध्येको एक चटगाँव रोयल्सको जिम्मा लिनुपरेको छ।
बिपिएल फ्रेन्चाइजीहरूले खेलाडीलाई पैसा नतिरेको इतिहास पुरानो होइन। २०२४-२५ सिजन र त्योभन्दा अघिका सिजनका धेरै खेलाडी र प्रशिक्षकहरू अझै पैसा पाएका छैनन्।
२०१२ मा बिपिएल सुरु भएका सुरुका संस्करणहरूमा पैसाको समस्या धेरै थियो। २०१६ देखि २०१९ सम्म भने राम्रो भएको थियो। गत सिजन फेरि यो समस्या देखियो। सबभन्दा नराम्रो त दरबार राजशाहीका खेलाडीहरूले दैनिक भत्ता र होटल बिल नपाएको विरोधमा ट्रेनिङ र खेल नै बहिष्कार गरेका थिए। त्यसलाई समाधान गर्न सरकारले नै हस्तक्षेप गर्नुपरेको थियो।
यो वर्ष बंगलादेशमा आर्थिक संकट चलिरहेको छ। यसले चिन्ता थपेको छ। अक्सन अघि करार भएका र अक्सनमा छानिएका केही खेलाडीहरूले टुर्नामेन्टबाट नाम फिर्ता लिएका छन्।
जस्तै श्रीलंकाका निरोशन डिकवेला, पाकिस्तानका अब्रार अहमद र आयरल्यान्डका पल स्टर्लिङले नाम फिर्ता लिएका थिए। यसले खेलको स्तर घटाउँछ र पैसाको चिन्ता छिट्टै जाँदैन।
राजशाही वारियर्सल, सिलहेट टाइटन्स, नोआखाली एक्सप्रेस र चटगाँव रोयल्स नयाँ टिमका रूपमा बिपिएलमा जोडिएका छन्। टिम संख्या सातबाट घटेर छ भएको छ।
तर चटगाँव फ्रेन्चाइजी सुरुदेखि नै विवादमा छ। मालिकले भनेका छन् कि छानबिन समितिमा नाम जोडिएका दुई व्यक्तिले उनलाई बिपिएलमा लगानी गर्न राजी गराएका थिए। टिम सिलहेट पुग्दा लिन आएको गाडीमा सबै खेलाडी अटाउन नसकेको जस्ता साना-ठूला समस्या भएका छन्। यी सबै भएपछि उसले क्रिकेट बोर्डलाई स्पन्सर नपाएको र टुर्नामेन्टमा नरहने पत्र लेखेका थिए।
यो सिजन दुई टिम मात्र पुरानै रूपमा फर्किएका छन्। धेरै खर्च गर्ने रंगपुर राइडर्सले आफ्नो धेरै सेटअप र मुख्य प्रशिक्षक मिकी आर्थरलाई फिर्ता ल्याएका छन्। ढाका क्यापिटल्स पनि नयाँ खेलाडीहरूसहित फर्किएका छन्, जसमा लिलामीको सबभन्दा महँगो विदेशी खेलाडी दासुन शनाका छन्।
बिपिएलको समय बिग ब्यास लिग, यूएईको आईएलटी२० र दक्षिण अफ्रिकाको एसए२० सँग जुध्छ। साथै बिपिएललाई अस्थिर टुर्नामेन्ट मान्ने भएकाले धेरै ठूला टी२० स्टारहरू आएका छैनन्। यो राम्रो पक्ष भनेको नयाँ र अनक्याप्ड खेलाडीहरूलाई रातारात स्टार बन्ने मौका मिल्छ। लिलामीमा धेरै अनक्याप्ड स्थानीय खेलाडीहरू आफ्नो आधार मूल्यभन्दा बढीमा बिकेका छन्।