सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ८ विकेट गुमाएर १२८ रन बनाएको हो।
फितलो ब्याटिङ गरेको कर्णालीले १० ओभरसम्म ३ विकेट गुमाएर ४७ रन मात्रै बनाएको थियो।
बसिस्टोले कर्णालीलाई लयमा ल्याउने प्रयत्न गरेका थिए। उनले ३० बलमा तीन चौका र तीन छक्काको मद्दतबाट ४४ रन हाने।
त्यस्तै अर्जुन घर्तीले २५ बलमा २५ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे।
ओपनर बाबर हायतले २० रन मात्रै जोडे। चाडविक वाल्टनले १३ रन जोड्नुबाहे कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका लागि विकास आग्रीले ३, तिलक भण्डारीले २ तथा रामोन सिमोड्स, साद विन जाफर र रोहित पौडेलले १/१ विकेट लिए।
लुम्बिनी यसअघि नै लिगबाट बाहिरिसकेको छ।
कर्णालीका लागि भने आजको खेल महत्त्वपूर्ण छ। कर्णालीको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग छ। प्लेअफ सम्भावना बलियो राख्न कर्णालीलाई आजको खेल जित्नुपर्ने दबाब छ।