नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले बिहीबार मलेसिया भएको पहिलो सेमिफाइनल खेलमा ओमानमाथि ८७ रनको जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेको हो।
अब उपाधिका लागि नेपालले शनिबार युएईसँग खेल्नेछ। युएईले आजै भएको सेमिफाइनलमा हङकङलाई ७ विकेटले हरायो।
खराब ब्याटिङ गरेको नेपालले १४८ रनको लक्ष्य दिएको थियो। तर नेपाली बलरले भने घातक बलिङ गरे। कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए पनि ओमान २८.१ ओभरमा ६० रनमै अलआउट हुन पुग्यो।
ओमानविरुद्ध नेपालका ललितनारायण राजवंशीले सुरुवाती २ विकेट लिन सफल भए। ललितले ५ ओभरमा २ मेडन राखे भने १२ रन मात्र दिए।
यस्तै कप्तान सन्दीपले ३ विकेट लिने क्रममा ६ ओभरमा १ मेडन राखे भने ९ रन मात्र खर्चिए। दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिँदा ६ ओभरमा ११ रन दिए।
रोहित पौडेलले पनि २ विकेट लिन सफल भए। रोहितले ४.१ ओभरमा १ मेडन राखे भने ७ रन मात्र खर्चिए।
मलेसिया क्वालालम्पुरमा टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा ४ चौका प्रहार गर्दै ५१ रन बनाए। साथै बसिर अहमदले पनि ४७ रनको योगदान गरे।
कुनै समय ११.२ ओभरमा ३६ रन बनाउँदा ४ विकेट गुमाएको नेपालका लागि दीपेन्द्र र बसिरले पाँचौ विकेटका लागि ९३ रनको साझेदारी भयो। यो नेपालका लागि महत्वपूर्ण सावित भयो।
दीपेन्द्र र बसिर बाहेक अ रु ब्याटर चल्न सकेनन्।
ओपनिङमा आएका देव खनाल १३ रन र आसिफ शेख ११ रनमा आउट भए। इशान पाण्डे १ रन र रोहित पौडेल ३ रनमै आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो।
त्यसपछि दीपेन्द्र र बसिरले नेपालको इनिङ अघि बढाए पनि त्यसपछिका ब्याटर पनि सस्तैमा आउट भए। गुल्सन झा ७ रन, करण केसी ५ रन, सन्दीप लामिछाने ३ रन र शेर मल्ल ० मा आउट भए।
बलिङमा ओमानका जय विराम र हसनैइन शाहले ३-३ विकेट लिए। यस्तै मुहमद इमरामको नाममा १ विकेट लिए।
शनिबार नेपाल र युएईबीच हुने फाइनलको विजेता सन् २०२७ को एसिया कपमा छनोट हुनेछ।