एसिसी प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपाल पराजित भएको छ। पराजयका बावजुत नेपाल समूह ‘ए’ को विजेता बनेको छ।
अब नेपालले सेमिफाइनलमा बिहीबार ओमानसँग खेल्नेछ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम ओभरको पहिलो बलमा २४६ रनमा अलआउट भयो।
नेपालका लागि इशान पाण्डेले ९० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। उनी ४९ ओभरमा ९० रनमा आउट हुँदा १०६ बलमा ६ चौका र २ छक्का प्रहार गर्न सके।
आसिफ शेखले ४४ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्।
त्यसअघि हङकङले ७ विकेटको क्षतिमा २६१ रन बनायो। उसका लागि बाबर हायतले नटआउट ११७ रन बनाए। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे।
बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लको नाममा ३ विकेट रह्यो।
अब नेपालले बिहीबार ओमानसँग जित निकाले शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल जित्ने टोली एसिया कपमा पुग्नेछ।