एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानविरूद्ध खराब ब्याटिङ गरेको छ।
मलेसियाको क्वालालम्पुरमा टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा ४ चौका प्रहार गर्दै ५१ रन बनाए। साथै बसिर अहमदले पनि ४७ रनको योगदान गरे।
११.२ ओभरमा ३६ रन बनाउँदा ४ विकेट गुमाएको नेपालका लागि दीपेन्द्र र बसिरले पाँचौ विकेटका लागि ९३ रनको साझेदारी गरे। यो नेपालका लागि महत्वपूर्ण सावित भयो।
दीपेन्द्र र बसिर बाहेक अरु ब्याटर चल्न सकेनन्।
ओपनिङमा आएका देव खनाल १३ रन र आसिफ शेख ११ रनमा आउट भए। इशान पाण्डे १ रन र रोहित पौडेल ३ रनमै आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो।
त्यसपछि दीपेन्द्र र बसिरले नेपालको इनिङ अघि बढाए पनि त्यसपछिका ब्याटर पनि सस्तैमा आउट भए।
गुल्सन झा ७ रन, करण केसी ५ रन, सन्दीप लामिछाने ३ रन र शेर मल्ल ० मा आउट भए।
बलिङमा ओमानका जय विराम र हसनैइन शाहले ३-३ विकेट लिए। यस्तै मुहमद इमरामको नाममा १ विकेट लिए।
अर्को सेमिफाइनलमा हङकङलाई पराजित गर्दै युएई फाइनलमा पुगेको छ। फाइनलको विजेता सन् २०२७ को एसिया कपमा छनोट हुनेछ।