जापान र भारतबीच मंगलबार टी-२० अन्तर्राष्ट्रिय खेलको अन्तिम ओभरमा 'वाइड' निर्णय फिर्ता लिएपछि कतिपयले प्रश्न गरेका छन्।
जापानमा वर्षाका कारण खेल ५-५ ओभरमा छोट्याइएको थियो। ओसिलो र कठिन पिचमा जापानलाई भारतविरुद्ध जितका लागि अन्तिम ४ बलमा ८ रन आवश्यक थियो।
त्यतिबेला भारतका बलर अक्षर पटेलविरुद्ध जापानका बायाँहाते ब्याटर एलेक्सान्डर शिराई-प्याटमोरले 'रिभर्स-हिट' को प्रयास गरे। बल उनको लेग-साइडतिर गयो र मैदानमा रहेका जापानी अम्पायर क्रिस थर्गेटले त्यसलाई 'वाइड' करार दिए।
लगत्तै अर्को बलमा पनि उही दृश्य दोहोरियो र अम्पायरले पुनः वाइड दिए। यसले जापानलाई जितका लागि ४ बलमा ६ रनको स्थितिमा पुर्यायो र भारतीय खेलाडीहरू असन्तुष्ट बने।
विवादबिच लेग अम्पायरका रूपमा रहेका आइसिसी इलाइट प्यानलका न्युजिल्यान्डका अम्पायर क्रिस ब्राउनले हस्तक्षेप गर्दै आफ्ना साथी अम्पायरलाई नियम सम्झाएर निर्णय सच्याउन लगाए।
दोस्रो वाइडको निर्णय फिर्ता भएपछि जापानको समिकरण ३ बलमा ७ रनमा बदलियो। अन्त्यमा भारतले २ रनको रोमाञ्चक जित निकाल्यो।
आइसिसीको निर्देशिका अनुसार जब ब्याटरले रिभर्स-हिट वा स्विच-हिटको प्रयास गर्छ, ब्याटरको सुविधाका लागि दुवैतर्फ (लेग-साइड र अफ-साइड) लाई नै 'अफ-साइड' मानिन्छ। यस अवस्थामा बललाई वाइड भन्नका लागि त्यो बाहिरी स्टम्पभन्दा कम्तीमा ७५ सेन्टीमिटर बाहिर जानुपर्छ।
ब्याटरले बलरले बल छाडिसकेपछि स्टान्स फेरेको भए पनि त्यसले नियममा फरक पार्दैन। ब्याटरले रिभर्स-हिटको प्रयास गर्नासाथ दुवै तर्फलाई अफ-साइड मानिने नियम लागू हुन्छ।
सो खेलमा टिभी अम्पायर वा डिआरएस थिएन। यद्यपि, अर्को बल फ्याँकिनुभन्दा अघिसम्म मैदानका अम्पायरसँग आफ्नो निर्णय सच्याउने पूरा अधिकार हुन्छ। पहिलो वाइडपछि तुरुन्तै अर्को बल फ्याँकिएकाले पहिलो निर्णय सच्याउन नसकिए पनि दोस्रो गल्ती दोहोरिन नदिन अम्पायरले समयमै कदम चालेका थिए।
एसियन गेम्सअघि जापान र भारतले एक खेलको सिरिज खेलेका हुन्। यो दुई टोलीबीचको पहिलो प्रतिस्पर्धा हो। एसियन गेम्समा भारत क्वार्टरफाइनलमा पुगिसकेको छ। जापानले भने नेपाल र अफगानिस्तानसँग समूह चरणमा खेल्नेछ।
समूह चरणमा नेपाल र जापानको खेल शनिबार हुनेछ। त्यसअघि नेपालले अफगानिस्तानसँग शुक्रबार खेल्नेछ। तीन टोलीमध्ये शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।