जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकालेको छ।
शुक्रबार निसिनमा भएको समूह ‘ए’को खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जितसँगै नेपालले समूहमा महत्वपूर्ण दुई अंक जोडेको छ।
नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे। जोराले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रोहितले ३२ बलमा ४ चौकासहित अविजित ३३ रन बनाए।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। कुशल मल्ल ९ रनमा आउट भए भने गुल्शन झाले अविजित १ रन बनाए। ओपनर कुशल भुर्तेल र आसिफ शेख भने क्रमशः शून्य र २ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले निर्धारित २० ओभरमा ७ विकेटमा १०२ रनमै रोकेको थियो।
नेपालका लागि कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए। उनले ४ ओभरमा २१ रन खर्चिए। ललित राजवंशीले ३ विकेट लिएपछि अफगानिस्तान ठूलो स्कोर बनाउन असफल भयो।
१२ वर्षपछि फेरि नेपालकै बाजी
अफगानिस्तानमाथि नेपालको यो जित विशेष पनि बनेको छ। नेपालले पछिल्लोपटक सन् २०१४ को टी–२० विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको थियो।
त्यसपछि पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा अफगानिस्तानसँग भिडेको नेपालले १२ वर्षपछि पनि जितको इतिहास दोहोर्याएको छ।
अर्थात्, २०१४ को विश्वकपमा अफगानिस्तानलाई हराएको नेपालले १२ वर्षपछि एसियन गेम्सको टी–२० क्रिकेटमा पनि उसैलाई पराजित गरेको हो।
अब नेपालले शनिबार आयोजक जापानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। जापानलाई पराजित गरे नेपाल समूह ‘ए’को विजेता बन्नेछ। अफगानिस्तानले पनि यस खेलको नतिजापछि
क्वार्टरफाइनलमा स्थान बनाउनेछ। नेपाल भारी अन्तरले पराजित भए मात्र तीन मध्ये दुई टोलीले रनरेटमा अघि बढ्नेछन्।