भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली आइपिएलको फ्रेन्चाइजी दिल्ली क्यापिटल्स (डीसी) को मुख्य प्रशिक्षक बनेका छन्। दिल्ली क्यापिटल्सले मंगलबार सामाजिक सञ्जालमार्फत गांगुलीलाई आईपीएल २०२७ का लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गरेको हो।
गांगुलीको नियुक्तिको चर्चा केही समयदेखि चलिरहेको थियो। उनीसँगै पूर्व भारतीय क्रिकेटर युवराज सिंह पनि दिल्लीको ब्याटिङ प्रशिक्षक बन्ने अपेक्षा गरिएको छ। तर युवराजको नियुक्तिबारे भने दिल्लीले अहिलेसम्म औपचारिक घोषणा गरेको छैन।
दिल्ली क्यापिटल्सले पछिल्ला दुई सिजन प्रयोग गरेको प्रशिक्षक टोलीमा पनि परिवर्तन गरेको छ। सन् २०२६ को आईपीएलमा दिल्ली छैटौं स्थानमा सीमित भएको थियो। त्यसपछि टिम निर्देशक वेणुगोपाल राव, मुख्य प्रशिक्षक हेमाङ बदानी, बलिङ प्रशिक्षक मुनाफ पटेल र सहायक प्रशिक्षक इयान बेलको टोली परिवर्तन गर्ने तयारी गरिएको थियो।
गांगुलीले दिल्ली क्यापिटल्स आफ्नो लागि निकै विशेष फ्रेन्चाइजी भएको बताएका छन्।
‘दिल्ली क्यापिटल्स मेरो मनसँग निकै नजिक रहेको फ्रेन्चाइजी हो। यससँग मेरो लामो समयदेखि बलियो सम्बन्ध छ। मालिक, व्यवस्थापन, सहयोगी टोली र खेलाडीहरूसँग नजिकबाट काम गरेको छु। त्यसैले यो जिम्मेवारी मेरा लागि निकै उत्साहजनक छ,’ गांगुलीले भने।
उनले दिल्लीसँग प्रतिभाशाली खेलाडीको समूह रहेको बताउँदै नयाँ सिजनमा बलियो र निडर टोली बनाउने लक्ष्य रहेको बताएका छन्।
दिल्लीसँग गांगुलीको सम्बन्ध पुरानो हो। उनी सन् २०२४ मा जेएसडब्ल्यूका क्रिकेट निर्देशक बनेका थिए। यसअघि आईपीएल २०१९ मा उनले दिल्लीको मेन्टरका रूपमा पनि काम गरेका थिए। पछि उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को अध्यक्ष बने।
सन् २०२५ को एसए२० प्रतियोगितामा गांगुलीले प्रिटोरिया क्यापिटल्सको मुख्य प्रशिक्षक भएर काम गरेका थिए। प्रशिक्षकका रूपमा उनको त्यो पहिलो अनुभव थियो। उनी दिल्ली क्यापिटल्सको महिला टोलीसँग पनि जोडिँदै आएका छन्।
दिल्ली क्यापिटल्सका सहमालिक तथा जेएसडब्ल्यू स्पोर्ट्सका संस्थापक पार्थ जिन्दालले गांगुलीलाई दिल्ली परिवारको महत्वपूर्ण सदस्य भन्दै उनको नेतृत्वमा टोलीले आईपीएल उपाधिका लागि बलियो चुनौती दिने विश्वास व्यक्त गरेका छन्।
अर्का सहमालिक तथा जीएमआर स्पोर्ट्सका संस्थापक किरण कुमार ग्रान्धीले पनि गांगुलीले दिल्लीको क्रिकेट संरचना बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
पन्त पनि दिल्ली फर्किए
यसैबीच, ऋषभ पन्त पनि दिल्ली क्यापिटल्समा फर्किएका छन्। उनलाई लखनउ सुपर जायन्ट्सबाट दिल्लीले आगामी सिजनका लागि फिर्ता ल्याएको हो।
पन्त र कुलदीप यादवबीचको ट्रेड मार्फत यो परिवर्तन भएको हो। पन्तले सन् २०१६ देखि २०२४ सम्म लगातार नौ सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए।
अब गांगुलीको नेतृत्व, सम्भावित युवराजको ब्याटिङ प्रशिक्षकको भूमिका र पन्तको पुनरागमनसँगै दिल्ली क्यापिटल्सले आईपीएल २०२७ मा नयाँ स्वरूपमा उपाधि जित्ने लक्ष्य राख्नेछ।