नेपालले एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ अन्तर्गत समूह बीको खेलमा यूएईलाई १२१ रनमै अलआउट गरेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई ३९.५ ओभरमा १२१ रनमा समेटेको हो।
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।
यस्तै नन्दन यादव, राशिद खान र ललित राजवंशीले समान १ विकेट लिए। नन्दनले ४.५ ओभरमा २८ रन खर्चिँदा राशिदले ४ ओभरमा १३ तथा राजवंशीले ८ ओभरमा २७ रन दिए।
यूएईका लागि मुहम्मद शहजादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा ५ चौका प्रहार गरे। हरप्रीत सिंहले ४८ बलमा ४ चौकासहित ३२ रन जोडे। नुरुल्लाह अयोबीले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यूएईले सुरुवातमै दुई विकेट गुमाएको थियो। आर्यन्स शर्मा ८ र अंश टन्डन १ रनमा आउट भए। त्यसपछि हरप्रीत र मुहम्मद शहजादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।
नेपालका लागि सन्दीपले हरप्रीतलाई आउट गर्दै उक्त साझेदारी तोडे। त्यसपछि यूएईले नियमित अन्तरालमा विकेट गुमायो।
मुहम्मद शहजाद र हरप्रीत आउट भएपछि यूएईको ब्याटिङ थप कमजोर बन्यो। ९९ रनमा सात विकेट गुमाएको यूएईले त्यसपछि २२ रन जोड्दा बाँकी तीन विकेट पनि गुमायो।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत ए सँग ३०६ रनले पराजित भएको थियो। भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भएको थियो।
अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तान ए सँग प्रतिस्पर्धा गर्नेछ।