पाकिस्तान सुपर लिग (पीएसएल) को १२औँ संस्करण पनि इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै आयोजना हुने भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएल २०२७ मार्च १८ देखि मे २ सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
यससँगै पीएसएल लगातार तेस्रो वर्ष आइपिएलसँग जुध्ने भएको हो।
पीएसएलको सुरुवाती संस्करणदेखि २०२४ सम्म प्रतियोगिता प्रायः फेब्रुअरी–मार्चमा हुँदै आएको थियो। तर पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफी र भारत तथा श्रीलंकामा आयोजना भइरहेको टी–२० विश्वकपका कारण २०२५ देखि पीएसएललाई अप्रिल–मेमा सारिएको थियो।
यसपटक पीएसएललाई फेरि जनवरी–फेब्रुअरीमा फर्काउने विषयमा पनि पीसीबी र फ्रेन्चाइजबीच छलफल भएको थियो।
प्रतियोगिताको मिडिया अधिकार सन् २०२९ सम्म पाएको तथा नयाँ टोलीमध्ये एक रावलपिन्डिजको स्वामित्वसमेत रहेको वाली टेक्नोलोजिजले अहिलेको समयतालिकाप्रति असन्तुष्टि जनाउँदै जनवरी–फेब्रुअरीमा प्रतियोगिता गर्नुपर्ने प्रस्ताव गरेको थियो।
वालीको तर्क थियो—रमजानको समयमा अधिकांश विज्ञापनदाता आफ्नो मार्केटिङ तथा टेलिभिजन विज्ञापन बजेट ठूलो मात्रामा खर्च गरिसक्ने भएकाले पीएसएलको हालको समयतालिकामा प्रसारणबाट हुने आम्दानी प्रभावित भइरहेको छ।
तर जनवरी–फेब्रुअरीमा पीएसएल आयोजना गर्नु व्यवहारिक नहुने देखिएको छ। विशेषगरी पाकिस्तानको पञ्जाब प्रान्तका लाहोर, मुल्तान र रावलपिन्डीमा जाडोको समयमा बाक्लो कुहिरो लाग्ने तथा दृश्यता कम हुने भएकाले खेल सञ्चालन र प्रसारणमै समस्या आउन सक्ने पीसीबीको निष्कर्ष थियो। त्यसमाथि प्रतियोगिताको निर्णायक चरण रमजानमा पर्ने सम्भावना पनि थियो।
पीसीबीको गभर्निङ काउन्सिल बैठकमा प्रतियोगिताको समयतालिकामा सहमति जुट्न नसकेपछि बोर्डले आठवटै फ्रेन्चाइजसँग इमेलमार्फत उनीहरूको प्राथमिकता मागेको थियो। बहुमत फ्रेन्चाइजले मार्च–मे विन्डो रोजेपछि अन्ततः यही समयलाई पीएसएल १२ का लागि तय गरिएको हो।
प्रतियोगिताका लागि कुन–कुन मैदान प्रयोग गर्ने भन्नेबारे भने पीसीबीले औपचारिक रूपमा केही खुलाएको छैन। पछिल्ला वर्षमा पीएसएलका अधिकांश खेल कराँची, लाहोर, मुल्तान र रावलपिन्डीमा हुँदै आएका छन्।
गत संस्करणमा पीसीबीले फैसलाबाद र पेशावरलाई पनि नयाँ आयोजनास्थलका रूपमा थपेको थियो। तर पश्चिम एसियाको संकटपछि सरकारले इन्धन संरक्षणका उपाय अपनाएपछि पीएसएल ११ लाई लाहोर र कराँचीमा मात्रै सीमित गरिएको थियो। फाइनल बाहेक अधिकांश खेल दर्शकबिना बन्द रंगशालामा खेलाइएको थियो।
यसपटक भने पीएसएलले नियमित स्वरूपमा फर्किँदै आइपिएलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। आगामी संस्करणमा विश्व क्रिकेटका ठूला दुई टी–२० लिग एउटै समयमा हुँदा विदेशी खेलाडी, दर्शक, प्रसारण अधिकार र प्रायोजन बजारमा समेत प्रतिस्पर्धा थप चर्किने देखिन्छ।