अमेरिकाले नामिबियालाई ४ विकेटले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ।
बुधबार डलासमा भएको खेलमा नामिबियाले दिएको २९९ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
अमेरिकाका कप्तान मोनांक पटेलले शानदार शतक बनाउँदै १०८ रनको महत्वपूर्ण इनिङ्स खेले। उनको प्रदर्शन अमेरिकाको जितको मुख्य आधार बन्यो।
पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको थियो। ओपनर माइकल भान लिङ्गेनले राम्रो सुरुवात दिलाए। उनले लोरेन स्टेनक्याम्पसँग ३० रन र कप्तान गेर्हार्ड इरास्मससँग ७६ रनको साझेदारी गर्दै नामिबियालाई बलियो योगफलतर्फ अघि बढाए।
जवाफमा अमेरिकाका लागि मोनांक पटेलले १०८ रन बनाए। स्मित पटेलले ५० तथा शेहान जयसूर्याले ७४ रन थपेपछि अमेरिकाले सात बल बाँकी छँदै लक्ष्य पूरा गर्यो।
यो जितसँगै अमेरिकाले लिग–२ मा थप दुई अंक जोड्दै ४७ अंक पुर्याएको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ४५ अंक छ। अब बाँकी खेलबाट स्कटल्यान्डले जतिसुकै अंक जोडे पनि अमेरिकालाई उछिन्न नसक्ने भएपछि अमेरिका लिग–२ को च्याम्पियन बनेको हो।
यो अमेरिकाको लिग–२ पहिलो उपाधि हो।
अमेरिकाले यसअघि नै आइसिसी क्रिकेट विश्वकप छनोटमा स्थान पक्का गरिसकेको थियो। अब उसले छनोट प्रतियोगितामार्फत २०२७ को एकदिवसीय विश्वकपमा स्थान बनाउने अवसर पाउनेछ।
२०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ।
नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। नेपाली टोली हाल ओमान र क्यानडासँग सिरिज खेल्न ओमान छ। जहाँ नेपालले पहिलो खेल असोज २५ मा क्यानडासँग खेल्नेछ।
लिग–२ को अंक तालिकामा अमेरिका ३४ खेलबाट २३ जितसहित ४७ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको स्कटल्यान्डले ३६ खेलबाट १९ जितसहित ४५ अंक जोडेको छ।
नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो तथा ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छन्। नामिबिया ३४ खेलबाट २९ अंकसहित पाँचौँ, क्यानडा ३२ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा छन्। नेपाल ३२ खेलबाट ११ जित र १९ हारसहित २४ अंक जोडेर सातौँ स्थानमा छ।
तालिकाको पुछारमा रहेको यूएईले ३० खेलबाट ८ जितसहित १९ अंक जोडेको छ।