चौथो खेलमा लज्जास्पद हार बेहोरेको भारतले पाँचौँ तथा अन्तिम एकदिवसीय खेलमा पुनरागमन गर्दै न्युजिल्यान्डलाई २२ रनले पराजित गरेको छ। यससँगै भारतले पाँच खेलको एकदिवसीय सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको छ।
माउन्ट माउन्गानुईस्थित बे ओभलमा आइतबार भएको खेलमा भारतले दिएको २१० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.१ ओभरमा १८७ रनमा समेटियो।
न्युजिल्यान्डका लागि डिन फक्सक्रफ्टले सर्वाधिक ३१ रन बनाए। निक केलीले २४, मिचेल सान्टनरले २४ तथा विल यङले २२ रन जोडे। माइकल ब्रेसवेलले १९ र क्रिस्टियन क्लार्कले १६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
भारतका अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। मोहम्मद सिराजले २ तथा अक्षर पटेलले २ विकेट हात पारे। यश ठाकुर, औकिब नबी र नमन धिरले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो।
भारतका अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाए। अक्षरले ५५ बलमा ५ चौका र १ छक्का प्रहार गरे भने इशानले ५८ बलमा ३ चौका र २ छक्का हिर्काए। नमन धिरले २२, श्रेयस अय्यरले २२ तथा ऋतुराज गायकवाडले १८ रन बनाए।
अन्तिमतिर मोहम्मद सिराजले अविजित १४ र अर्शदीप सिंहले ४ बलमा १४ रन बनाएपछि भारतले २०० रनको आँकडा पार गरेको थियो।
न्युजिल्यान्डका ज्याकब डफीले ३ तथा म्याट फिसर र मिचेल सान्टनरले समान २ विकेट लिए।
चौथो खेलमा भारतले न्युजिल्यान्डसँग लज्जास्पद हार बेहोरेको थियो। तर अन्तिम खेलमा जित निकाल्दै भारतले सिरिजमा आफ्नो वर्चस्व कायम राख्यो। पाँच खेलको सिरिजमा भारतले तीन खेल जित्दा न्युजिल्यान्डले एक खेल जितेको थियो। एक खेल नतिजाविहीन रह्यो।