कतारको मिसाइद क्षेत्रमा धेरैले उनलाई ‘ज्याकी चेन’ भनेर चिन्छन्। फेसबुक खोल्दा कसैले उनलाई चीनका चर्चित अभिनेता ‘ज्याकी चेन’ को नाम राख्न सुझायो। उनले नसोची त्यही नाम राखेर फेसबुक खोले। अहिले उनी सामाजिक सञ्जालमा यही नामले चिन्छिन्छन्।
साथीभाइले उनलाई ‘अर्जुन’ भनेर बोलाउँछन्। उनको सरकारी नाम भने टेकप्रसाद गोतामे हो। तीन वटा नामले फरक-फरक स्थानमा चिनिएका उनको खेलकुदसँगको साइनो पुरानो र गाढा छ। त्यसैले त खेलकुदले उनलाई तीन वटै नामले चिन्छ।
स्कुल पढ्दा दौड जितेका उनी नेपाली सेनाको प्रतिनिधित्व गर्दै विदेशमा दौडमा भाग लिन गए। परिस्थितिले खेलकुद क्षेत्रबाट टाढा रहन बाध्य अर्जुन अहिले खेलकुदका स-सना कुरालाई पनि नियालिरहेका हुन्छन्। विशेषगरी उनी तेक्वान्दो, फुटबल र एथ्लेटिक्सलाई माया गर्छन्। बेलाबेलामा त्यही मायाले सहयोग सामग्री र रकम पनि पठाइरहन्छन्।
गोरखा छोप्राक फिरफिरेमा २०२८ सालमा जन्मेका अर्जुन सुरूमा नेपाली सेना भर्ना भएका थिए। त्यसपछि परिवर्तनको हुटहुटीले उनी माओवादी युद्धमा होमिए। पछि देशमा युद्ध चलिरहँदा परिस्थितिले विदेशिन बाध्य भए।
स्कुल पढ्दा उनले सात कक्षासम्म जुत्ता लगाउन पाएनन्। आठ कक्षामा पुगेपछि आमाले चप्पल किनिदिएको क्षण उनले अझै पनि भुलेका छैनन्। नौ कक्षा पुगेपछि आमा गुमाउन पर्दाको क्षण उनको जीवनको दु:खद् क्षण हो।
स्कुल पढ्दा उनी खेलकुदमा भाग लिइरहन्थे। दौडमा उनको विशेष लगाव थियो। त्यतिबेला १५ सय मिटर दौड जितेर गलामा मेडल लगाएको क्षण उनलाई अहिले पनि झलझल्ती याद आउँछ। त्यहीबेलादेखि उनलाई सम्मान पाउन खेलाडी बन्नुपर्छ भन्ने लागेको थियो।
स्कुलमा दौडमा भाग लिएको उनलाई आफ्नो जीवनमा पनि काम लाग्यो। किनकि त्यही शारीरिक व्यायामका कारण उनी नेपाली सेनामा भर्ना भए। भर्ना भएलगत्तै विवाह गरेका अर्जुनको जीवन ठिकठाक चल्दैथियो।
जब २०५२ सालमा देशमा 'जनयुद्ध' सुरू भयो, उनको जीवनले पनि अर्कै मोड लियो। उनको सालो प्रकाश रिजाल (बसन्त) माओवादीमा आबद्ध भए। जसका कारण आफ्नै सालो प्रकाश उनका शत्रु पक्ष भए। तर अर्जुनले माओवादीलाई कहिल्यै शत्रुपक्षको जस्तो व्यवाहार गरेनन्।
सालो प्रकाशले नेपाली सेनामा रहेका आफ्ना भिनाजु अर्जुनलाई सधैं परिवर्तनका लागि माओवादी युद्धमा होमिन भनिरहन्थे।
सहयोग गर्न आग्रह गरिरहन्थे। त्यसैले अर्जुनलाई देश परिवर्तनका लागि माओवादीलाई सहयोग गर्नुपर्छ भन्ने भावना आइरहन्थ्यो।
त्यसैले अर्जुनले भित्रभित्रबाटै माओवादीलाई सेनामै रहेर सहयोग गर्न निधो गरे। विभिन्न सूचना पुर्याउन सुराकी गरेका अर्जुनले कतिपय स्थानमा माओवादी छापामारलाई तालिम समेत दिए।
अर्जुन त्यतिबेला आफूमात्र नभएर सेनाका कतिपय ठूलै अफिसरले समेत माओवादीलाई सहयोग गर्ने गरेको दाबी गर्छन्।
उनी सूचना लिएर आफ्नो ब्यारेक रहेको राजविराजबाट देशका विभिन्न स्थानमा पुग्थे।
‘हामीसँग आर्मीको कार्ड हुने भएकाले जहाँ चेक गरे पनि सजिलो हुन्थ्यो,’ अर्जुन सम्झिन्छन्।
सुराकी गर्ने भएकाले उनलाई सेक्सन कमन्डारको पद दिइएको थियो।
२०५६ सालमा भने उनले माओवादीलाई सहयोग गर्ने गरेको आर्मीले पत्तो पायो। उनले माओवादीका लागि भनेर पठाएका कागजपत्र बसबाट समातिएपछि उनी एकाएक गायब भए।
माओवादीमा आबद्ध भएपछि अर्जुन। त्यसपछि साला बसन्तले भनेअनुसार सुराकी गर्न थाले। माओवादीमा बसन्तको त्यतिबेला बाबुराम भट्टराईसँग राम्रो सम्बन्ध थियो। त्यसैले कतिपयले बसन्तलाई बाबुरामको विश्वासपात्रको रूपमा लिने गरेको अर्जुन बताउँछन्।
माओवादीमा लागेपछि धेरै रात भोकभोकै हिँड्न परेको अर्जुनलाई अझै सम्झना छ। तर पनि देश परिवर्तन हुन्छ भन्ने आशामा भोक सहन्थे।
२०६१ सालको वैशाखमा बसन्त रूकुमको खारातर्फ गएका थिए। त्यतिबेलासम्म अर्जुनले चितवनमा घर बनाइसकेका थिए। बसन्त रूकुमतर्फ जानुअघि आफ्नी पत्नी योजनालाई अर्जुनको घरमा छाडेर गएका थिए। २०६१ को खारा भिडन्तबाट फर्कने क्रममा २०६२ वैशाख ६ मा बसन्त सम्मिलित माओवादी टोली र सेनाबीच अर्को भिडन्त भयो। अर्जुनको घरबाट युद्धका लागि निस्किएका बसन्त त्यसपछि कहिल्यै फर्किएनन्। भिडन्तमा उनको निधन भयो। उनी त्यतिबेला माओवादीका बिग्रेड सहकमान्डर थिए।
बसन्तको मृत्युपछि भने अर्जुन विक्षिप्त बने।
‘उसकै कारण युद्धमा होमिएँ। उसको लास देखेपछि निकै आत्तिएको थिएँ,’ अर्जुन त्यो दु:खद् घटना सम्झिन्छन्।
सहिदको रगतले देशले प्रगतिको बाटो समाप्ने आशासहित मन बुझाए। अनि बाबुराम भट्टराईसँग कुरा गरेर विदेश जाने सल्लाह गरे। बाबुरामले भारतको नयाँ दिल्ली हुँदै विदेश जान व्यवस्थापन गरिदिए।
प्रकाश रिजाल (बसन्त)अर्जुन २०६२ सालमा दिल्लीबाट इराक पुगे। त्यहाँ स्वीडिस दूतावासमा सुरक्षा गार्डको काम पाए। त्यहाँ आफूजस्तै मान्छे भेटे। कोही आर्मीले दु:ख दिएका त कोही माओवादीले खेदेर बाध्य भएर विदेशिएका।
‘आखिरीमा जिन्दगीमा आफैंले दु:ख गर्न पर्ने रहेछ,’ इराकमा ३० केजीको झोला अनि हतियार बोकेर १२ घन्टा काम गर्न परेको क्षण सम्झिँदै उनी भन्छन्, ‘कहिले बेकारमा युद्ध लडिएछजस्तो लाग्थ्यो। बरू आर्मीमै बसेर दु:खसुख गरेर त्यहीँ पेन्सन खाएको भए हुन्थ्यो कि झैं लाग्थ्यो। इराकमा पनि बम पड्किरहन्थ्यो, कतिबेला त्यहीँ मरिन्छ कि जस्तो लाग्थ्यो।’
उनी इराक हुँदा नेपालमा गणतन्त्र आयो। माओवादी युद्ध समाप्त भयो। शान्तिवार्ता भएर माओवादी संसदमा आए। आफूले बगाएको रगत-पसिना कारण राजा फालियो भन्ने उनलाई लाग्यो। देशमा अब विकास हुन्छ भन्ने लाग्यो। उनलाई त्यतिबेलै देश फर्किऊँ जस्तो पनि लागेको थियो। तर छुट्टीमा नेपाल फर्कने सोच बनाए।
उनी छुट्टीमा नेपाल आएको माओवादी नेतालाई भेटे। बाबुराम भट्टराईले ‘भर्खर परिवर्तन भएको हो, अहिले जहाँ काम गरेको त्यहीँ काम गर’ भनेपछि उनी फेरि इराक फर्किए।
तीन वर्ष इराक बसेपछि दुबई हुँदै छुट्टीमा नेपाल आउने क्रममा मेनपावर व्यवसायी बलबहादुर तामाङसँग उनको भेट भयो।
‘तिमी कहाँ छौ, आजकाल? आर्मीले मार्यो रे भन्ने पनि सुनेको थिएँ। तिमी त यहाँ रहेछौ,’ तामाङले भेटेलगत्तै अर्जुनसँग भनेका थिए। अनि तामाङले नै कतारका लागि जागिरको ‘अफर’ आएको बताएका थिए।
इराकबाट फर्किएको ९ महिनापछि उनी कतार पुगे। कतार पेट्रोलियम कम्पनीमा काम गर्न थाले। ग्यास र पेट्रोल उत्पादन हुने स्थानमा सुरक्षा दिने औद्योगिक सुरक्षा बलमा आबद्ध भए। त्यसपछि उनको जीवन र जागिरले स्थायित्व पायो।
त्यतिबेला उनी माओवादीको खेलकुदअन्तर्गत विदेश विभागमा थिए। जसका कारण उनले नेपालबाट बाबुराम भट्टराई, देवेन्द्र पौडेल, हिसिला यामी लगायतका नेतालाई कतार लागेर कार्यक्रम पनि गरे।
८ वर्षसम्म कतारमा रहेर माओवादीलाई सहयोग गरे। त्यहीँ सिलसिलामा एथ्लेटिक्स तथा तेक्वान्दो खेलाडी र संघलाई सहयोग पनि गरे।
सेना र माओवादीका कारण बिथोलिएको उनको जिन्दगी फेरि खेलतर्फ फर्कन थाल्यो।
सबैभन्दा पहिला चितवन जिल्ला तेक्वान्दो संघलाई सहयोग गरे। चितवनबाट खेलाडी कतार लगेर प्रतिस्पर्धा गराए। खेल सामग्री पनि उपलब्ध गराए। नुवाकोट, मकवानपुर र दाङको तेक्वान्दो संघलाई पनि खेल सामग्री दिए। अहिले नेपालको महिला फुटबल टिमका ११ खेलाडीलाई सहयोग गर्ने बाचा गरेको उनी बताउँछन्।

बाबुरामले माओवादी छाडेर विभिन्न दलसँग एकता गरिरहँदा उनलाई नेपालको राजनीतिप्रति वितृष्णा बढ्दै गयो।
माओवादीबाट नयाँ शक्तिमा गएका उनले २०७६ मा विज्ञप्ति नै निकालेर पार्टी छाडेको घोषणा गरे। उनले घाइते र अपांगलाई नहेरेकोमा पार्टीप्रति आक्रोश व्यक्त गरे।
अहिले उनी कुनै पार्टीमा छैनन्। जसले राम्रो काम गर्छ त्यसलाई सहयोग गर्न पछि पर्दैनन्। उनलाई नयाँ पुस्ताका नेताप्रति आशा छ।
उनी अहिले आफ्नो जीवनलाई समीक्षा गर्छन्। कहिले सेना त्यागेकोमा दु:ख मान्छन्। तर तत्काल आफूजस्ता मानिसकै कारण देशमा परिवर्तन भएकोमा खुसी हुन्छन्। आफूले दु:ख पाए पनि नयाँ पुस्ताले दु:ख नपाउने कल्पनामा रम्छन्। आफू होमिएको आन्दोलन ठिक भए पनि व्यक्तिको प्रवृत्ति ठिक नभएको उनी सोच्छन्।
अब उनले आफ्नो जीवन खेल क्षेत्रमै बिताउने निधो गरेका छन्। उनले बाल्यकालमा १५ सय मिटर दौड जितेर गलामा लगाएको मेडल अहिले पनि बर्सेका छैनन्। बाल्यकालमा मेडल लगाएपछि भरिएको खुसी अहिले पनि उनको मनमा छ। त्यसैले उनी खेलकुदलाई सहयोग गरेर जीवनमा खुसी साट्न चाहन्छन्।
