विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।
असलंकाले सन् २०२१ मा इंग्ल्याण्डविरुद्ध ओडीआई तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। टी–२० अन्तर्राष्ट्रिय डेब्युमै उनले २६ बलमा ४४ रन बनाउँदै प्रभावशाली सुरुवात गरेका थिए।
आईसीसी पुरुष टी–२० विश्वकप २०२१ मा असलंकाले श्रीलंकाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा ६ खेलबाट २३१ रन बनाउँदै उनी श्रीलंकाका सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। उनले उक्त प्रतियोगितामा ४६.२० को औसत र १४७.१३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।
सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो ओडीआई शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा तथा आक्रामक ब्याटरका रूपमा स्थापित हुँदै आएका छन्। बलिङतर्फ पनि योगदान दिन सक्ने उनी उपयोगी अलराउन्डरका रूपमा परिचित छन्।
टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १,४६६ रन बनाएका छन् भने ७ विकेट पनि लिएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट ३,७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन्।
असलंकाले जुलाई २०२४ मा श्रीलंकाको टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। त्यसै महिनाको अन्त्यमा उनले एकदिवसीय टोलीको कप्तानीको जिम्मेवारीसमेत पाएका थिए। सन् २०२४ देखि २०२५ सम्म श्रीलंकाको सीमित ओभरको क्रिकेटको नेतृत्व गरेका असलंकाले आफ्नो अन्तर्राष्ट्रिय अनुभवसँगै नेतृत्व क्षमता पनि प्रदर्शन गरेका छन्।
विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ।
“चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई विराटनगर किङ्समा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ। उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,” विराटनगर किङ्सले जनाएको छ।
टोलीले असलंकाको अनुबन्धसँगै एनपीएल सिजन–३ का लागि आफ्नो टोलीलाई अझ प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको जनाएको छ।
विराटनगर किङ्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै असलंकाले नेपालमा खेल्न आफू उत्साहित रहेको बताए।
“नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु। नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु। अब आफैं नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,” असलंकाले भने।
उनले विराटनगर किङ्सका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्दै समर्थकलाई सम्झनलायक क्षण दिने लक्ष्य रहेको पनि बताए।
“विराटनगर किङ्ससँग मिलेर उत्कृष्ट क्रिकेट खेल्ने, टोलीका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने तथा समर्थकहरूलाई सम्झनलायक क्षणहरू दिने मेरो लक्ष्य हुनेछ। एनपीएलमा नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न पाउनु मेरा लागि विशेष अनुभव हुनेछ। विराटनगर किङ्सको परिवारमा जोडिन पाउँदा म गर्व र उत्साह दुवै महसुस गरिरहेको छु,” उनले भने।
असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेशनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन्। हाल उनी इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन्।