कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो। विराटनगरका तीन ब्याटरले अर्धशतक पूरा गरे।
ओपनर लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए। इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतले ५६ रन जोडे। त्यस्तै, आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए। उनको इनिङ्समा २ चौका र ५ छक्का सामेल रहे।
विराटनगरको सुरुवात भने राम्रो हुन सकेन। पहिलो ओभरमै शेहान जयसूर्या १ रनमा आउट भएपछि टोली दबाबमा परेको थियो। उनलाई मोइन अलीले स्टम्पिङ गराएका थिए।
त्यसपछि लोकेश बम र इमरान शेखले दोस्रो विकेटका लागि १०७ रनको महत्वपूर्ण साझेदारी गर्दै विराटनगरको इनिङ्स सम्हाले। यी दुईले ६९ बलमा १०० रनको साझेदारी पूरा गरेका थिए। यही साझेदारी विराटनगरको इनिङ्सको टर्निङ प्वाइन्ट बन्यो।
१३औँ ओभरमा इमरान शेख ५६ रन बनाएर आउट भए। उनलाई अभिषेक तिवारीले अनिल साहमार्फत क्याच गराए। त्यसपछि पनि लोकेश र रसेलले रन गति कायम राखे। लोकेश ५० रन बनाएर १८औँ ओभरमा आउट भए।
अन्तिम ओभरहरूमा रसेलले आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई बलियो योगफलसम्म पुर्याए। उनले अन्तिम पाँच ओभरमा टोलीले बनाएको ६२ रनमध्ये महत्वपूर्ण योगदान दिए। रसेलले शुभम रञ्जनेसँग चौथो विकेटका लागि अविजित साझेदारी गरे।
जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए। अभिषेकले ४ ओभरमा ३८ रन खर्चिए।
अब जनकपुरले जितका लागि २० ओभरमा १७५ रन बनाउनुपर्नेछ।