नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो।
पोखराको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो। ओपनर अर्जुन कुमाल दोस्रो बलमै रुबेन ट्रम्पलम्यानको बलमा बोल्ड भए। त्यसपछि आएका सदीरा समरविक्रमा ७ रन बनाएर दोस्रो विकेटका रूपमा आउट भए। उनले ट्रम्पलम्यानकै बलमा अभिषेष गौतमको हातबाट क्याच दिए।
कुशल भुर्तेल र विपिन आचार्यले तेस्रो विकेटका लागि ४ रन मात्रै जोड्न सके। आचार्य १ रनमा आउट हुँदा पोखराले १५ रनमै ३ विकेट गुमाइसकेको थियो।
कप्तान कुशल भुर्तेलले २० बलमा १४ रन बनाए। उनी सातौँ ओभरमा तिलक भण्डारीको बलमा आउट भए। त्यसपछि आएका शाकिब अल हसन पनि ३ रनमै पवेलियन फर्किए। उनी रोहित पौडेलको बलमा आसिफ शेखबाट क्याच आउट भए।
पोखराले ३१ रनमै पाँच विकेट गुमाएपछि दबाबमा परेको थियो।
छैटौँ विकेटका लागि महेदी हसन र अर्जुन घर्तीले १९ रनको साझेदारी गरे। तर, २० बलमा ६ रन बनाएका घर्ती १५औँ ओभरमा ट्रम्पलम्यानको बलमा एलबीडब्लू आउट भए। त्यसको केही समयपछि महेदी हसन पनि २४ बलमा १३ रन बनाएर आउट भए। उनलाई तिलक भण्डारीले पवेलियन पठाए।
पोखराका लागि सर्वाधिक रन बनाउने क्रममा चामिका करुणारत्नेले १७ बलमा २५ रन जोडे। उनले दुई छक्का प्रहार गरे। तर, नवौँ विकेटका रूपमा उनी रनआउट भए।
किरण ठगुन्नाले ६ बलमा १२ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अभिषेश गौतमले आउट गरे।
अन्तिममा विपिन खत्री ७ बलमा ६ र आकाश चन्द १ रनमा अविजित रहे।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले ४ ओभरमा २२ रन दिएर २ विकेट हात पारे। रोहित पौडेलले १ ओभरमा २ रन खर्चेर १ विकेट लिए। किशोर महतोले ३ ओभरमा १४ रन दिएर विकेट लिन सकेनन्।
त्यस्तै अभिषेश गौतम र शेर मल्लले समान १ विकेट लिए। गौतमले ४ ओभरमा १५ रन खर्चेर एक मेडन राखे भने मल्लले ४ ओभरमा २४ रन दिए।
पोखराले पावरप्लेमा २३ रन बनाउँदा २ विकेट गुमाएको थियो। पहिलो १० ओभरमा ५ विकेट गुमाएर ३९ रन बनाएको पोखराले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाउँदै ४६ रन जोडेको थियो।