नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
चितवनले यसअघिका दुई खेलबाट तीन अंक जोडेको छ। एक खेलमा जित निकालेको चितवनको एक खेल भने वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ सुदूरपश्चिमले तीनमध्ये दुई खेलमा हार बेहोरेको छ। त्यसैले सुदूरपश्चिमका लागि आजको खेल जितको लयमा फर्कने अवसर हुनेछ।
आजको खेलमा चितवनले कप्तानीमा परिवर्तन गरेको छ। अघिल्लो खेलमा रवि बोपाराले टोलीको नेतृत्व गरे पनि आज सिकन्दर रजा कप्तानको जिम्मेवारीमा छन्। चितवनले डान माउसेलीको स्थानमा सिकन्दर रजालाई प्लेइङ ११ मा समेटेको छ।
सुदूरपश्चिमले पनि टोलीमा एक परिवर्तन गरेको छ। थिरन्दु रत्नायकेको स्थानमा ब्राण्डन म्याकमुलनलाई प्लेइङ ११ मा राखिएको छ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अभिनास बोहरा, सैफ जैब, ब्राण्डन म्याकमुलन, स्कट कुगेलेइन, शेरफन रदरफोर्ड र अनिल खरेल।
चितवन राइनोजको प्लेइङ ११ : सिकन्दर राजा (कप्तान), रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेविड मलान र टम टेलर।