नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। अर्धशतक बनाउन एक रनले चुकेका उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। चितवनको ब्याटिङमा बोपाराबाहेक अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्।
चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। देव खनाल ७ रनमा आउट भए भने अर्जुन साउदले १५ रन बनाए। डेविड मलान १६ रन बनाएर पेभेलियन फर्किए। चितवनले पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको थियो।
पहिलो विकेटका लागि देव र अर्जुनले १० रनको साझेदारी गरे। दोस्रो विकेटका लागि अर्जुन र मलानले १७ रन जोडे। मलान र बोपाराबीच तेस्रो विकेटका लागि ३५ रनको साझेदारी भयो। तर, ९.४ ओभरमा मलान आउट भएपछि चितवनले ६२ रनमै तीन विकेट गुमाएको थियो।
त्यसपछि बोपाराले कप्तान सिकन्दर रजासँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरे। यी दुईबीच चौथो विकेटका लागि ३२ रनको साझेदारी भयो। रजा १५ रन बनाएर १५.२ ओभरमा आउट भए।
बोपाराले विवेक यादवसँग पाँचौं विकेटका लागि १९ रन जोडे। तर, १८.१ ओभरमा बोपारा ४९ रनमा आउट भएपछि चितवन थप दबाबमा परेको थियो। विवेकले १५ बलमा १७ रन बनाए। उनी पनि अन्तिम बलमा रनआउट भए।
अन्तिम ओभरमा टम टेलरले अविजित ६ रन जोडेपछि चितवनले १२९ रनको योगफल तयार पारेको हो।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए।
चितवनले यसअघिका दुई खेलबाट तीन अंक जोडेको छ। एक खेलमा जित निकालेको चितवनको एक खेल भने वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ सुदूरपश्चिमले तीनमध्ये दुई खेलमा हार बेहोरेको छ। त्यसैले सुदूरपश्चिमका लागि आजको खेल जितको लयमा फर्कने अवसर हुनेछ।
आजको खेलमा चितवनले कप्तानीमा परिवर्तन गरेको छ। अघिल्लो खेलमा रवि बोपाराले टोलीको नेतृत्व गरे पनि आज सिकन्दर रजा कप्तानको जिम्मेवारीमा छन्।