नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युवराज सम्रा र यूएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ।
पोखराले जारी एनपीएलको बाँकी खेलका लागि एसोसिएट राष्ट्रका दुई खेलाडीलाई टोलीमा भित्र्याएको हो।
क्यानडाका २० वर्षीय युवराज सम्रा आक्रामक ओपनिङ ब्याटर हुन्। उनले गत टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरेका थिए।
सम्राले क्यानडाका लागि १९ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र २० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा एक शतक र तीन अर्धशतकसहित ५८६ रन बनाएका छन्। उनको आगमनले पोखराको शीर्ष क्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
यस्तै, २१ वर्षीय मारुफ मर्चेन्ट लेगस्पिनर हुन्। उनले केही दिनअघि सम्पन्न हङकङ सिक्सेस प्रतियोगितामा यूएईको टोलीबाट खेलेका थिए।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यसअघि पनि विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। टोलीमा बंगलादेशका शाकिब अल हसन, मेहदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका चमिका करुणारत्ने, धनञ्जय लक्षण र सदिरा समरविक्रमा छन्।
जारी एनपीएलमा पोखराले शुक्रबार चितवन राइनोजसँग आफ्नो चौथो खेल खेल्दैछ। नयाँ खेलाडीको आगमनसँगै पोखरा आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्यमा हुनेछ।