सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा मंगलबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२० रन जोडेको हो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमलेनले बनाएको ३३ रन सर्वाधिक रह्यो।
जनकपुरको घातक बलिङमा सुदूपश्चिमको टप अडर ब्याटिङ लाइन ध्वस्त भएको थियो।
ओपनर सेफ जेइब र विनोद भण्डारी १०/१० रनमा आउट हुन पुगे। इशान पाण्डे ३ र कप्तान दिपेन्द्रसिंह ऐरी एक रनमै आउट भए।
आरिफ शेख ११ रनमा, स्कट कुगेलाइन ६ रनमा, अनिल खरेल ४ रनमा र हेमन्त धामी शून्यमा आउट हुन पुगे।
थरिन्डु रत्नायकेले २७ रन बनाएर नट आउट रहे। अभिनास बोहराले २ रन बनाए।
बलिङतर्फ हर्मित सिंहले सर्वाधिक ४ विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन मात्रै खर्चिए।
ललित राजवंशी, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १/१ विकेट लिए।
प्लेअफ सम्भावना बलियो पार्नका लागि दुवैका लागि आजको खेल अत्यन्त महत्त्वपूर्ण छ।
सुदूरपश्चिम ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
जनकपुर चार अंकसहित पाँचौं स्थानमा छ।
दुवैले आजको खेलपछि लिग चरणमा एउटा मात्रै खेल खेल्न बाँकी रहनेछ।