चितवन राइनोजका अनुभवी ब्याटर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजसँगको हारपछि टोलीले राम्रो अवस्थामा रहेर पनि खेल जित्न नसकेको बताएका छन्।
सोमबार काठमाडौंसँग १० रनले पराजित भएपछि प्रतिक्रिया दिँदै बोपाराले १८१ रनको लक्ष्य पछ्याउने क्रममा चितवन ८५ रनमा एक विकेटको अवस्थामा रहेको स्मरण गरे। तर, त्यसपछि लगातार विकेट गुमाउँदा टोलीले खेलमा पुनरागमन गर्न नसकेको उनले बताए।
‘हामी एक समय निकै राम्रो अवस्थामा थियौँ। ८५ रनमा एक विकेट मात्र गुमाएका थियौँ। तर, त्यसपछि विकेट गुमायौँ र खेलमा फर्किन सकेनौँ,’ उनले भने।
बोपाराले बलिङमा पनि टोलीले सुरुवाती चार ओभरपछि विपक्षीलाई खेलमा हाबी हुन दिएको बताए। उनका अनुसार पाँचौँ ओभरदेखि काठमाडौंले खेलमा पकड बनाउन सफल भएको थियो।
‘पहिलो चार ओभरपछि हामीले विपक्षीलाई राम्रो अवस्थामा राखेका थियौँ। तर, पाँचौँ ओभरदेखि हामीले खेल आफ्नो हातबाट फुत्कायौँ,’ उनले भने।
हारका बाबजुद बोपाराले नेपाली खेलाडीको प्रदर्शनमा आएको सुधारको प्रशंसा गरे। पछिल्लो दुई वर्षमा नेपाली खेलाडीको पावर हिटिङ क्षमतामा उल्लेखनीय विकास भएको उनको भनाइ छ।
नेपाली खेलाडीहरू पहिलेभन्दा धेरै शक्तिशाली सट खेल्न सक्षम भएको उल्लेख गर्दै उनले आगामी चार–पाँच वर्षमा अझ ठूलो सुधार देखिने विश्वास व्यक्त गरे। एनपिएलजस्ता प्रतियोगिताले स्थानीय खेलाडीको विकासमा महत्वपूर्ण भूमिका खेलेको पनि उनले बताए।
चितवनका बलरहरूको प्रदर्शनबारे बोल्दै बोपाराले तीव्र गतिका बलरद्वय रिजन ढकाल र कमल ऐरीलाई लिगकै उत्कृष्ट तीव्र गतिका बलरमध्ये दुई भएको बताए। विशेषगरी रिजनले मध्य ओभर र डेथ ओभर दुवैमा आफ्नो बलिङ क्षमता प्रमाणित गरेको उनको भनाइ थियो।
चितवनले अब खेल्ने दुई खेल नकआउट चरणमा पुग्ने सम्भावनाका लागि निकै महत्वपूर्ण रहेको बोपाराले बताए। ती खेलमा राम्रो प्रदर्शन गर्दै टोलीले अर्को चरणमा स्थान बनाउने लक्ष्य राखेको उनले सुनाए।
यस्तै, बोपाराले यस सिजन एनपिएलमा प्रयोग भएका पिचको गुणस्तरप्रति असन्तुष्टि जनाए। प्रतियोगिताभर आफूहरूले खेलेका पिचमध्ये अधिकांश राम्रो नभएको उनको टिप्पणी थियो। तर, सोमबार काठमाडौंविरुद्ध खेलेको पिच भने अहिलेसम्मकै उत्कृष्ट रहेको उनले बताए।
मौसमका हिसाबले भने नेपालमा खेल्न निकै रमाइलो भइरहेको उनको भनाइ थियो। नेपालको चिसो साँझलाई उनले इंग्ल्यान्डको मौसमसँग तुलना गरे।
काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। चितवनका लागि बोपाराले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रन बनाएका थिए।
हारसँगै चितवन पाँच अंकसहित अंक तालिकाको चौथो स्थानमा छ। अब बाँकी दुई खेल चितवनका लागि प्लेअफमा पुग्ने सम्भावना कायम राख्न निर्णायक हुनेछन्।