युवराज सिंह सम्राको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो।
पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा समेटियो। लगातार चार खेलमा पराजित पोखराले पाँचौं खेलमा आएर जितको खाता खोलेको हो।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। उनले ३१ बलमा एक चौका र दुई छक्का प्रहार गरे। दीपक डुम्रेले सात बलमा तीन छक्का र एक चौकासहित २२ रन बनाए। सोमपाल कामीले १९ बलमा २१ रन जोडे। अरिफुल इस्लामले १३ बलमा २४ रन बनाए।
कर्णालीको सुरुवात भने आक्रामक थियो। अरिफुल र जिसान आलमले पहिलो विकेटका लागि १.३ ओभरमा १९ रन जोडे। जिसान एक रन पनि नबनाई धनञ्जय लक्षणको बलमा आउट भए। त्यसपछि अरिफुल पनि २४ रनमा आउट हुँदा कर्णाली २.४ ओभरमा २५/२ को अवस्थामा पुग्यो।
मार्क वाट आठ र दीपक डुम्रे २२ रनमा आउट भएपछि कर्णालीको अवस्था थप कमजोर बन्यो। डुम्रेले आक्रामक ब्याटिङ गरे पनि पाँचौं ओभरको अन्तिम बलमा मेहेदी हसनले उनलाई बोल्ड गरे।
डेभिड मिलर सात र गुल्सन झा दुई रनमा आउट हुँदा कर्णाली ८.१ ओभरमा ७२/६ को अवस्थामा पुगेको थियो। त्यतिबेला टोलीलाई जितका लागि ठूलो साझेदारी आवश्यक थियो।
पवन सर्राफ र सोमपाल कामीले सातौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै कर्णालीलाई केही आशा दिलाए। तर, १४.६ ओभरमा सोमपाल २१ रनमा आउट भएपछि कर्णालीको जितको सम्भावना कमजोर बन्यो। सोमपाललाई कुशल भुर्तेलले रनआउट नभई 'अबस्ट्रक्टिङ द फिल्ड' मा आउट गराएका थिए।
त्यसपछि कर्णालीले लगातार विकेट गुमायो। सर्राफ ३२, नन्दन यादव तीन र सूर्य तामाङ १३ रनमा आउट भए। अन्तिममा कर्णाली १५४ रनमै समेटियो।
पोखराका लागि मेहेदी हसनले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए। धनञ्जय लक्षणले दुई, कुशल भुर्तेलले दुई र विपिन खत्रीले दुई विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। उनले ४५ बलमै शतक पूरा गरेका थिए। जारी सिजनमा शतक बनाउने उनी पहिलो ब्याटर हुन्।
सम्राले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी गरे। भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन बनाए। उनी १७.५ ओभरमा सोमपाल कामीको बलमा आउट भए।
अन्तिमतिर चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गरे। उनले केवल ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन बनाए। पोखराले एनपीएल इतिहासकै दोस्रो ठूलो योगफल बनाउने क्रममा कर्णालीलाई २१८ रनको कठिन लक्ष्य दिएको थियो।
यो जितसँगै पोखराले पाँच खेलबाट दुई अंक जोड्दै अंक तालिकामा खाता खोलेको छ। लगातार चार हारपछि आएको यो जितले पोखराको प्लेअफ सम्भावनालाई जीवित राखेको छ।
पाँच खेल खेलेको कर्णालीले भने दुई खेल जित्दै चार अंक जोडेको छ। पोखरासँगको हारले कर्णालीको प्लेअफ यात्रामा धक्का लागेको छ।