सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ।
पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
त्रिवि मैदानमा दिउँसो १ बजे यी दुई टोली आमनेसामने हुँदैछन्।
काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छ।
काठमाडौंले आज छैटौं खेल खेल्न लागेको हो भने सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल खेल्दैछ।
प्लेअफ स्थान सुरक्षित गर्न सुदूरपश्चिमलाई आजको खेलमा जित्नै पर्नेछ। पराजित भए अन्य टोलीको खेल नतिजा पर्खनुपर्नेछ।
काठमाडौं दुई खेल बाँकी रहेका कारण कम दबाबमा छ। उसले खेलेको पाँच खेलमध्ये ४ खेलमा जित निकालेको छ।
साँझ ५ बजे चितवन राइनोज् र जनकपुर बोल्ट्स भिड्दैछन्।
जनकपुरले पनि आज लिग चरणको अन्तिम खेल खेल्दैछ। प्लेअफ सम्भावना जिवित राख्नका लागि उसलाई जित्नुपर्ने दबाब छ।
जनकपुरले ६ मध्ये २ खेलमात्रै जितेको छ। प्लेअफमा पुग्ने झिनो सम्भावना उसका लागि अझै बाँकी रहेको छ। खेल जिते पनि उसले अरू टोलीको नतिजा पर्खनुपर्नेछ।
चितवनको सम्भावना जनकपुरको भन्दा अझै बढी छ।
आजको खेलपछि उसले अझै एक खेल खेल्न बाँकी रहनेछ।
चितवन ५ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।
दुवै खेल जित्न सके उसको प्लेअफमा पुग्न सक्ने सम्भावना बलियो छ।