जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सको करातेको पहिलो दिन नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।
नेपालका चार खेलाडीले पहिलो दिन प्रतिस्पर्धा चारै खेलाडी पदकबिहीन बने। जसमा तीन खेलाडी त कास्य पदकको निर्णायक भिडन्तमा चुकेका थिए।
नेपालले सबैभन्दा आशा गरेकी खेलाडी एरिकाले क्वार्टरफाइनलको खेलमा जित निकालिन्। उनले जोर्डनकी नासेर यारालाई ७-० ले पराजित गरिन्। सेमिफाइनल भने उनी चुकिन्। सेमिफाइनलमा एरिकाकी पुरानो प्रतिद्वन्द्वी काजखस्तानकी सोफियाले २-१ ले जित निकालिन्। फाइनलमा पुग्न नसके पनि एरिकाको कास्यको भिडन्त साउदी अरेबियाकी मोस्ताफा डिनासँग पक्का भएको थियो।
जसमा एरिका ८-७ अंकको झिनो अन्तरले पराजित हुन बाध्य भइन्। एरिकाले गत संस्करणको एसियन गेम्समा रजत जितेकी थिइन्। यसपटक उनीबाट स्वर्णको आशा गरिए पनि उनी निर्णायक भिडन्तमा चुक्दा पदकविहिन हुन बाध्य भइन्।
५५ केजी मुनी तौल समूहको पुरुष कुमुतेमा राकेश मानन्धरले अन्तिम आठको खेलमा जित निकालेका थिए। उनले क्वार्टरफाइनलमा थाइल्यान्डका नाथाकितलाई ९-० ले हराएका थिए। तर राकेश सेमिफाइनलमा उज्वेकिस्तानका खालिमोभसँग ७-० ले पराजित हुँदा फाइनल पुग्न सकेनन्। तर उनले कास्य पदकक भिडन्त भने पक्का गरेका थिए। पदकको भिडन्तमा भने राकेश चुके। उनी मलेसियाका कलियनासँग ९-१ ले पराजित हुन पुगे।
६० केजी मुनीमा मिनबहादुर तामाङले ताजाकिस्तानका मोहमदलाई २-० ले हराएर सेमिफाइनलमा स्थान बनाए। मिनबहादुर पनि सेमिफाइनलमा रोकिए। उनलाई कुवेतका सावानले १०-० ले हराए। कास्य पदको भिडन्तमा साउदी अरेबियाका खेलाडी अल्बाशेरसँग २-० अंकले हारे।
महिला व्यक्तिगत कातामा पनि सानुमाया थिङ अन्तिम १६ को खेलमा दक्षिण कोरियाकी चोइ हाइनसँग ५-० ले पराजित भइन्।
यसरी करातेको पहिलो दिन नेपालले निराशाजनक प्रदर्शन गर्दा पदक ल्याउने लक्ष्य पूरा हुन सकेन।
टेबल टेनिसको टिम इभेन्ट पनि नेपाल पराजित
टेबल टेनिसमा नेपालको महिला तथा पुरुष ‘टिम’ इभेन्टमा पराजित भएका छन्।
महिलामा चीनसँग नेपाल ३-० को सेटमा पराजित भयो। इभाना थापा, नवीता श्रेष्ठ, योङगी पौडेल तीनै जनाले कुनै पनि सेट जित्न सकेनन्।
पुरुषमा चाइनिज ताइपेसँग पनि ३-० को सेटमा पराजय भोग्यो नेपालले। नेपालका रुबिन महर्जन, संयोग कपाली र ज्ञानन्जय कपा दाहालले कुनै पनि सेट जित्न सकेनन्।
उसुमा विजय सिन्जाली १९औं
जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सको उसुमा नेपालका विजयी सिन्जालीको प्रदर्शन राम्रो हुन सकेन।
उनी पुरुष छ्वानक्वाङ विधाको प्रतिस्पर्धामा सफल हुन सकेनन्। २१ खेलाडीले गरेको प्रदर्शनको अंकको आधारमा उनी १९औं भए।
विजयीले ९.१४६ अंक हासिल गरेका थिए। यो प्रतिस्पर्धाको स्वर्ण र रजत मकाओका खेलाडीले जितेका छन्।
यस्तै इन्डोनेसियाका खेलाडीले कास्य पदक हात पार्न सफल भएका छन्।
एसियन गेम्सको औपचारिक उद्घाटन भएको दोस्रो दिनसम्ममा चीनले ४ स्वर्ण, ४ रजत र १ कास्य जितेको छ। आयोजक जापानले पनि ४ स्वर्ण जित्दा २ रजत र ३ कास्य पदक जितेको छ। दक्षिण कोरिया र काजखस्तानले २-२ स्वर्ण हात पारेका छन्।