राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट उज्वेकिस्तानस्थित समरकन्डमा सम्मानित भएकी छन्।
विश्वव्यापी रुपमा महिला चेसको प्रवद्र्धनमा गरिएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको फिडेले जनाएको छ ।
हिमालयन चेस एकेडेमीकी संस्थापक समेत रहेकी खम्बूलाई समरकन्डमा भइरहेको ४६ औं चेस ओलम्पियाड २०२६ र फिडे कंग्रेस २०२६ को अवसरमा मंगलबार सम्मान गरिएको हो । फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी उनले बंगलादेशमा रहेका रोहिंग्य शरणार्थी बालबालिका र प्रशिक्षकलाई प्रशिक्षण दिनुकासाथ स्वदेशमै अटिजम भएका बालबालिका, सामुदायिक विद्यालय, महिलाका लागि विशेष चेस ट्रेनिङ दिइरहेकी छन् ।
नेपाल बुद्धिचाल महासंघमा चार वर्षअघि उपमहासचिव निर्वाचित भएकी खम्बू अर्थशास्त्र र लैंगिक समानतामा स्नातकोत्तर गरेपछि महिला सशक्तिकरणमा पनि कार्यरत छिन् । उनी नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन, पहिलो महिला इन्टरनेसनल आर्बिटर (आईए) हुन् ।
उनले एसियन गेम्समा दुईपल्ट, इन्डोर एसियन गेम्समा तीनपल्ट, चेस ओलम्पियाडमा तीनपल्ट देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् । उनले १६ वर्षअघि बनाएको १८७७ फिडे रेटिङको रेकर्ड कायमै छ । एक दशकयता व्यवस्थापनमा सक्रिय उनले फिडे इन्स्ट्रक्टर (एफआई) र वुमेन्स क्यान्डिडेट मास्टर (डब्लुसीएम) टाइटल पनि लिएकी छन् ।
समरकन्डमा भइरहेको ४६ औं चेस ओलम्पियाड २०२६ मा नेपालको पुरुष र महिला टिमले प्रतिस्पर्धा गरिरहेको छ । फिडेले यसै कंग्रेसमार्फत नयाँ नेतृत्व पनि चयन गर्दैछ ।