१६ वर्षको लामो पर्खाइपछि विश्वकपमा फर्किएको पाराग्वेको टोलीमा अहिले उत्साह र भावनाको ठूलो लहर छाएको छ।
फुटबल र भावना सँगसँगै चल्छन् भन्ने कुरा फिफा विश्वकप २०२६ मा आयोजक अमेरिका विरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रष्टै देखियो। पाराग्वे र अमेरिकाबीच भोलि विहान पौने सात बजे खेल हुँदैछ। त्यसअघि आज राति अर्को आयोजक क्यानडाले बोस्निया हर्जगोभिनासँग खेल्नेछ।
पाराग्वेका अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोले यो क्षणलाई ‘परम आनन्द र पूर्णताको क्षण’ भनेका छन्। उनले भने, ‘हामीलाई थाहा छ यो देशका लागि कति महत्त्वपूर्ण छ र यहाँसम्म आइपुग्न खेलाडीहरूले कति संघर्ष गरेका छन्। यो हाम्रा लागि अन्य सामान्य खेलजस्तो मात्र होइन, यो निकै विशेष छ।’
पाराग्वेका २३ वर्षीय प्रतिभाशाली मिडफिल्डर डिएगो गोमेजका लागि यो सपना पूरा भएजस्तै हो। उनले भने, ‘सानैदेखि आफ्नो देशका लागि विश्वकप खेल्ने मेरो सपना थियो। म निकै खुसी र उत्साहित छु।’
बोल्दाबोल्दै गोमेज यति भावुक भए कि उनका आँखाबाट आँशु झर्न थाले र उनी बोल्नै नसक्ने गरी अवाक भए। लामो समयपछि देशलाई विश्वस्तरमा प्रतिनिधित्व गर्न पाउँदाको गर्व र खुसी उनले शब्दमा व्यक्त गर्न सकेनन्। त्यो क्षणमा प्रशिक्षक अल्फारोले उनलाई अंकमाल गर्दै सम्झाए र भने, ‘अहिले शब्दको आवश्यकता छैन, हामी सबैले र पुरै पाराग्वेले अहिले यस्तै महसुस गरिरहेको छ।’
पाराग्वेले आफ्नो पहिलो खेल आयोजक अमेरिकासँग खेल्दैछ। गत नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा अमेरिकाले पाराग्वेलाई झिनो अन्तरले हराएको थियो।
तर यसपटक पाराग्वे दृढ छ। प्रशिक्षक अल्फारोले भने, ‘हामी केवल सहभागी हुन मात्र आएका होइनौं, हामी कडा प्रतिस्पर्धा गर्न र देशले चाहेको नतिजा ल्याउन आएका हौं। विश्वकपको इतिहासमा पाराग्वे सधैं एक कठिन प्रतिद्वन्द्वी रहिआएको छ।’