फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाडेका छन्।
खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो। खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन्।
बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन। खेलको ७८ औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो।
क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल एक/एक गोलको बराबरीमा टुङ्गियो।
आजै हुने विश्वकपको चौथो तथा समूह डी को पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल ६:४५ बजेदेखि सुरु हुँदैछ।