कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको छनोट प्रतियोगितामा नेपालले सुरुमा ‘अवे म्याच’ खेल्ने भएको छ।
प्रतियोगिताका लागि चाहिने अन्तर्राष्ट्रिय स्तरको मैदान उपलब्ध हुन नसक्दा नेपालले आफ्नो समूहमा परेका कुवेत, जोर्डन र चाइनिज ताइपेईलाई पहिले ‘अवे म्याच’ खेल्ने प्रस्ताव गरेको थियो।
तीन वटै देशले नेपालको प्रस्ताव स्वीकार गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
समूह 'बी' रहेको नेपाल र अस्ट्रेलियाबीचको खेल तालिका भने कुनै परिवर्तन हुनेछैन।
कुवेत, जोर्डन र ताइपेईको सहमतिसँगै अब एसियाली फुटबल महासंघ र फिफाले खेल तालिका परिवर्तन गर्ने एन्फाको भनाइ छ।
अब नेपालले छनोटको पहिलो खेल भदौ १९ गते कुवेतसँग उसैको घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले भदौ २४ गते चाइनिज ताइपेईसँग पनि उसैको मैदानमा खेल्नेछ।
नेपालले असोज २३ (अक्टोबर १०) मा अस्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ। यो खेल भने सुरुवाती खेल तालिका अनुसार नै हो।
नेपालले असोज २८ मा अर्को अवे खेल जोर्डनविरुद्ध खेल्नेछ।
यो पनि : विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा
कुवेत, ताइपेई र जोर्डनविरुद्धको सुरुवाती खेल नेपालले घरेलु मैदानमा खेल्ने कार्यक्रम थियो। तर दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले नेपालले सुरुमा अवे खेल खेल्न बाध्य भएको हो।
अब नेपालले मंसिर ३ गते कुवेतसँगको खेल ‘होम म्याच’ को रुपमा खेल्ने पर्नेछ। तर दशरथ रंगशाला त्यतिबेलासम्म पनि उलब्ध हुने निश्चित छैन। त्यसैले यो खेलको भेन्यूबारे एन्फा अझै अन्योलमा छ।
‘खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग मंसिर ३ को खेल नेपालमै गर्ने विषयमा कुराकानी गरिरहेका छौं। यदि हामीले नेपालमा खेल गर्नका सकेनौ भने न्यूट्रल भेन्यूमा खेलाउनु पर्छ,’ एन्फाका प्रवक्ता किरण राईले भने।
छनोटमा नेपालको खेल तालिका
कुवेतविरुद्ध
भदौ १९ गते - अवे म्याच
मसिंर ३ गते – होम म्याच (खेल स्थल टुंगो लाग्न बाँकी)
चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – अवे म्याच
चैत १३ गते - होम म्याच
अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच
जोर्डनविरुद्ध
असोज २८ गते - अवे म्याच
जेठ २२ गते(२०७७) – होम म्याच