सांग्रीला बुक्सले लकडाउनअघि छापिएका पुस्तक क्रमश: बजारमा ल्याउने भएको छ। सांग्रीला बुक्सका संचालक मणि शर्माका अनुसार बन्दाबन्दी अघि १० बालबालिका पुस्तक सहित १३ ओटा पुस्तक मुद्रण भएर तयार भएका थिए। तर बजारमा पठाउनु अघि 'लकडाउन' शुरु भएकाले बजार पठाउन सकिएको थिएन।
'लकडाउनअघि दश विभिन्न शीर्षकका बालबालिकाका पुस्तक र खगराज बरालद्वारा लिखित 'सिकाइ र सहयोग' शिक्षासम्बन्धी पुस्तक, जीवनप्रसाद राईद्वारा लिखित 'समृद्धिका आधार' र यात्रीप्रकाश पाण्डेको उपन्यास 'सइन' प्रेसबाट आइसके पनि बजारमा पठाउन सकिएको थिएन। यही आइतबारबाट क्रमैसंग यी पुस्तक बजारमा पठाइने छ,' शर्माले जानकारी दिए।
आइतबारदेखि सांग्रीला बुक्सले खगराज बरालद्वारा लिखित पुस्तक 'सिकाइ र सहयोग' बजारमा उपलब्ध गराउँदैछ। 'सिकाइ र सहयोग' पुस्तक सिकाइका प्रारूप– सुनाइ,बोलाइ, पढाइ र लेखाइका बारेमा विस्तृतमा जानकारी दिने पुस्तक हो। लेखकले शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षासम्बन्धी सैद्धान्तिक र व्यवहारिक समस्या र चुनौतीसँग आफूले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणबारे पुस्तकमा सरल तरिकामा वर्णन गरेका छन्।
लेखकको यसअघि 'सिकाउने शैली' पुस्तक सांग्रिला बुक्सद्वारा नै प्रकाशित छ। पुस्तकका सन्दर्भमा लेखक भन्छन्, 'सिकाउने शैलीमा शिक्षण सिकाइका विषयहरु कमै समेटिए, शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरु समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रिया सम्बद्ध विषय 'सिकाइ र सहयोग' पुस्तकमा उल्लेख गरेको छु।
लेखक बराल हाल नेपाल सरकारको सचिब हुनुहुन्छ । उहाका यस अघि करिब एक दर्जन बिभिन्न विषयका पुस्तक प्रकाशित छन्।यो पुस्तकलाई थुप्रै अनलाइनसँग सहकार्य गरी सांग्रीला बुक्सले इ-बुक फर्म्याटमा समेत उपलब्ध गराएको छ। साथै, अमेजन, बार्न्स एन्ड नोबल जस्ता साइटमार्फत संसारका जुनसुकै ठाउँका पाठकले पेपरब्याक संस्करण प्राप्त गर्न सक्ने कुरा 'थुप्रै'का संचलाक राजु गोतामेले जानकारी गराएका छन्।
'सिकाइ र सहयोग ' पुस्तकको मूल्य तीनसय पन्चानब्बे रुपियाँ छ। सांग्रीला बुक्सले क्रमैसँग अड्किएका पुस्तक र अरु नयाँ पुस्तक पनि बजारमा उपलब्ध हुने जनाएको छ।