विवाहपछि दर्शकबाट केही समय टाढा रहेकी अभिनेत्री रिश्मा गुरुङ नयाँ म्युजिक भिडिओ मार्फत दर्शकमाझ आएकी छन्। उनी गायक तथा निर्देशक कृष्ण केसीको ‘जाले रुमाल’ बोलको म्युजिक भिडियोमा अभिनेता बुद्धि तामाङका साथमा देखिएकी हुन्।
कृष्ण केसीको स्वर तथा संगीत रहेको गीतमा सुरेश अधिकारीको संगीत छ। युट्युबमा गत शुक्रबार सार्वजनिक यो गीतमा रिसाएकी मायालुलाई फकाउनका लागि एक जना प्रेमीको प्रयासलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
भिडिओमा रिसाएकी रिश्मालाई बुद्धिले फकाइरहेको देखाइएको छ। यसअघि बुद्धि र रिश्माले ‘कबड्डी’ फिल्ममा एकसाथ काम गरेका थिए।
कृष्ण केसीकै निर्देशन रहेको ‘जाले रुमाल’ भिडिओ मौसम हिमालीको कोरियोग्राफी, पवन सुस्लिङको सम्पादन तथा छायांकनमा तयार भएको हो।