फिल्म 'रोल नं. १' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले शुक्रबार वसन्तपञ्चमीको अवसर पारेर प्रदर्शन मिति सार्वजनिक गरेको हो।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी वर्ष २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) को अवसर पारेर प्रदर्शनमा आउनेछ।
फिल्मका मुख्य बाल कलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञान निकेतन’ मा पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो।
निर्माता विनोद पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ। फिल्मको मुख्य छायांकन हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा गरिएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भइरहेको 'रोल नं. १' पूर्ण रूपमा 'बाल मनोविज्ञान' मा आधारित फिल्म हो। यसले शिक्षा क्षेत्रको एउटा गहन पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
महेश दवाडीको लेखन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन्। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं हुन्।
शिवराम श्रेष्ठको डीओपी रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन्। फिल्म मदन घिमिरेले सम्पादन गर्नेछन्।