हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म 'भूठान' को काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ।
मंगलबार बेलुका सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा गरिएको प्रिमियरमा पुगेर कलाकार र पत्रकारसहित नेता, समाजसेवी, खेलाडी समेतले फिल्म हेरे।
फिल्म हेरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा अधिकांशले विनोद पौडेल निर्देशित 'भूठान' ले नेपाली फिल्मलाई एक स्तर माथि उकास्ने काम गरेको बताए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फिल्मले धेरैको कथा बोल्ने बताए।
'भुटानी शरणार्थीहरूको पीडा फिल्ममार्फतबाट जीवन्त प्रस्तुत गर्ने प्रयास गरिएको छ,' उनले भने, 'यो कथाले साँच्चै हृदय छोएको छ। यसले भुटानीको सन्दर्भमा र देश गुमाएका धेरैको सन्दर्भमा कथा बोलेको छ।'
उनले कलाकार, निर्देशकको काम निकै राम्रो रहेको बताउँदै भने, 'सबै राष्ट्रले संकल्प गर्न जरूरी छ कि, कसैले पनि म मेरो देश फर्केर मात्र मर्न पाउँ भन्ने खालको पीडा भोग्न नपरोस्।'
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो माटो, पहिचान, देश गुमाउनुको पीडा फिल्मको पात्रमार्फत सुन्दर ढंगले पक्किएको बताए।
'हरिवंशजी लगायत कलाकारहरूको उत्कृष्ट अभिनय, र सुन्दर निर्देशकीय पाटोले भूठान एक उत्कृष्ट फिल्म बनेको छ,' उनले भने।
अभिनेत्री मनिषा कोइरालाले कथावस्तु र प्राविधिक दुवै पाटोमा फिल्म राम्रो बनेको बताइन्। भनिन्, 'फिल्म भनेको कथा भन्नु हो। र, निर्देशकले कस्तो मीठो ढंगले कथा भन्नुभएको छ। एउटा मान्छेको पीडा देखाउनुभएको छ।'
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेर्न पाउँदा खुसी लागेको बताए। 'हरिवंशको फरक अवतार हेर्दा मलाई एकदमै मज्जा लाग्यो। अहिलेसम्म हेरेकामध्ये बेग्लै खालको फिल्म बनेको रहेछ,' उनले भने, 'यस्तो फिल्म पनि बनाउन मिल्ने रहेछ भन्ने एउटा पाठ निर्देशकले सिकाउनुभएको छ।'
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्मको तारिफ गरे।
एउटा क्रिएटरले आफूलाई लागेको कुरा हतार नगरिकन सबैलाई जोडेर मज्जाले देखाएको बताए।
अभिनेत्री स्वस्तिमा खड्काले फिल्म एकदमै सुन्दर बनेको बताइन्। निर्देशक मीनबहादुर भामले फिल्मको कथावस्तु मर्मस्पर्शीसँगै प्राविधिक पक्ष एकदमै राम्रो रहेको बताए। उनले कलाकार र निर्देशकको कामको पनि खुलेर तारिफ गरे।
गायिका आनी छोइङ् डोल्माले यो फिल्मले धेरै कुराहरू देखाएको बताइन्। नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेल, क्रिकेटर सोमपाल कामीले पनि फिल्मको तारिफ गरे।
'भूठान' को सम्पूर्ण छायांकन अमेरिकामा भएको हो। अंग्रेजीमा 'द वल्र्डस् ह्याप्पिएस्ट म्यान' नाम रहेको फिल्ममा फिल्ममा हरिवंशका साथमा दयाहाङ राई, अदिति प्याकुरेल, जोयस पाण्डे, पूजा चन्द, ऋचा घिमिरे, अनुराधा मजुमदार, विमल सुवेदीसहित हलिउडका चर्चित अभिनेता ब्रुस डर्न समेतको अभिनय छ।
फिल्मको निर्मातामा किर्तना बाँस्कोटा, विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र विनोद पौडेल छन्।
'भूठान' यही शुक्रबार अर्थात वैशाख १२ गतेदेखि प्रदर्शनमा आउँदैछ। हलहरूले फिल्मको टिकट बुकिङ खुलाइसकेका छन्।



