अभिनेत्री वर्षा सिवाकोटी निर्माण तयारीमा रहेको फिल्म 'महाराजधिराज' मा अनुबन्धित भएकी छन्।
निर्माणपक्षले बिहीबार वर्षासँग फिल्ममा अभिनयका लागि सम्झौता गरेको हो। यो फिल्ममा यसअघि अभिनेताहरू आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन्।
फिल्ममा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ। 'महाराजधिराज' मा परिच्छेद सेनको लेखन तथा निर्देशन रहनेछ। उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको थियो।
'महाराजधिराज' का प्रस्तुतकर्ता विराज बिष्ट हुन्। उनले यसअघि 'बुलाकी' निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्। फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ। 'महाराजधिराज' फूलपातिमा प्रदर्शन हुनेछ।