'एक्टरः टेक वन' बाट फिल्ममा डेब्यु गरेकी अभिनेत्री दिव्या रायमाझीले दुई एक्सन अभिनेताहरूसँग पर्दा सेयर गर्ने भएकी छन्।
उनले फिल्म 'राम नाम सत्य' मा अभिनेता विराज भट्ट र सुशील श्रेष्ठसँग काम गर्ने भएकी हुन्।
दिव्याले आइतबार मात्रै यो फिल्म साइन गरेकी छन्।
माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्ममा विराज र सुशील यसअघि अनुबन्ध फाइनल भइसकेका छन्।
दिव्याले आफ्नो भूमिका मन परेका कारण फिल्म साइन गरेको बताइन्।
'यो फिल्मको कथा बेजोड छ। मेरो भूमिका पनि निकै मनपर्यो। जसकाकारण, फिल्ममा काम गर्न तयार भएकी हुँ,' उनले भनिन्।
उनले विराज र सुशीलसँग काम गर्न पाउँदा निकै उत्साहित रहेको समेत बताइन्। 'राम नाम सत्य' को छायांकन साउनबाट सुरू गर्ने तयारी छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन रहनेछ। उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरूङ फिल्मका निर्माता हुन्। फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रूपमा रहनेछन्। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्म सुशन प्रजापतिले खिच्नेछन्।
फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको जनाइएको छ। अब, केही कलाकारहरू फाइनल गरेर वर्कसप सुरू गर्ने तयारी छ।
दिव्याको पछिल्लो रिलिज फिल्म 'पिताम्बर' हो। विराज पछिल्लो समय आफ्नै निर्देशनमा बनेको फिल्म '१२ गाउँ' मा देखिएका थिए भने सुशीलको 'आउट ल' गत फागुनमा प्रदर्शनमा आएको थियो।